किरण श्रेष्ठ, पौष १०, २०७९, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम दमौलीमा जोडिएका अधिकांश ‘क्लोज सर्किट’ सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका छन् । सदरमुकामको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजार क्षेत्रका ३७ स्थानमा सीसी क्यामेरा राखिएकामा केही महिनादेखि २८ वटाले काम गर्न छाडेका छन् । अहिले ९ वटा मात्रै संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला सदरमुकाम दमौलीमा सुरक्षा निगरानी गर्नका लागि तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सहयोगमा सीसी क्यामेरा जडान गरिएको थियो । सदरमुकाम दमौलीका मुख्यमुख्य चोक र मानिसहरूको भीडभाड बढी हुने स्थानमा सीसी क्यामरा जडान गरिएको थियो । जसमध्ये १२ वटा सीसी क्यामेरा व्यास नगरपालिका वडा नम्बर ३ ले जडान गरेको थियो भने बाँकी इकाईले जडान गरेको हो ।

सीसी क्यामेराको सहयोगमा सुरक्षा अवस्था निगरानी गर्न सहयोग हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । बजार क्षेत्रभित्र कहाँ के भइरहेको छ भनेर सीसी क्यामेरामा हेरेर प्रहरीले कन्ट्रोल रुमबाटै निगरानी गर्ने गरेको थियो । क्यामेरा बिग्रिएपछि बन्द भएका सीसी क्यामेरा मर्मतका लागि उद्योग वाणिज्य संघ दमौली बजार इकाईलाई अनुरोध गरिएको प्रहरी नयाव उपरीक्षक खड्काले जानकारी दिए । उनले थपे ‘स्थानीय निर्वाचन भन्दा अगाडी मर्मत पनि गरिएको थियो तर पुन: बिग्रीएको छ, अहिले कुल ३७ मा जम्मा ९ वटा मात्रै संचालनमा छ ।’

जिल्ला प्रहरी कार्यालय तनहुँमा रहेको सीसी क्यामेरा कन्ट्रोल कक्ष ।

२०७१ सालमा तनहुँको दमौली बजारमा जडान गरिएका सीसी क्यामेरा मध्ये हाल ९ वटा मात्रै प्रयोगमा छन । जडान गरिएका ति सीसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् ।

अहिले कुन कुन ठाउँमा छ्न ?

अहिले दमौलीको भोर्लेटार चोक, दुर्गा मन्दिर र प्रहरी कार्यालय अगाडि, निमचोक, एपोलो अस्पताल अगाडि, नेपाली काङ्ग्रेस पार्टी कार्यालय अगाडि, देउरालीनगर, कारागार जाने बाटो र एमाले पार्टी कार्यालय नजिक मात्रै सीसी क्यामेरा संचालनमा छन् ।

अहिले न्यून मात्रामा सीसी क्यामेरा सञ्चालन हुँदा जिल्ला सदरमुका दमौलीमा सुरक्षा चुनौती बढेको छ । दमौली बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रणका लागि अत्यावश्यक बनेको सीसी क्यामरा नहुँदा समस्या छ । अपराध निरन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतले समेत सीसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरेको छ ।

सीसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले बिग्रिएका सीसी क्यामेरा पुरानो मोडेलका भएको र अहिले इकाई सँग आर्थिक आभावका कारण सीसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।

इकाईका सभापति भुपाल आलेले २०७१ सालमा जडान गरिएका सीसी क्यामेरा बिग्रेको बताए । सभापति आलेले भने, ‘क्यामेरा जडानका लागि व्यास नगरपालिकाले वडालाई बजेट विनियोजन गरेको छ, अब हामि आगामी सोमबार व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ संग समन्वय गरी मर्मत र नयाँ सीसी क्यामेरा जडानको प्रक्रियामा अघि बढ्छौ ।’

प्रविधिको प्रयोगसँगै बढ्दो अपराध निरन्त्रण गर्न सीसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

‘सीसी क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, खड्काले भने, ‘कम सीसी क्यामेरा हुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सीसी क्यामेराको हुन्छ ।’

सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सीसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *