तनहुँ । तनहुँको दमौलीमा पौष २२ शुक्रबारदेखि सुरु भएको पाँचौ आदिवासी जनजाती तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको नवौं दिन शनिबार चर्चित राष्ट्रिय गायक गायिकाको प्रस्तुति रहेकोे थियो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा सुरु भएको महोत्सवको नवौं दिन चर्चित गायक बद्री पंगेनी, गायिका कला लम्साल, गायक सन्जिव सिं राना र हर्के हवल्दार टेलिसिरियलका हास्य कलाकार राजेन्द्र गिरिको बेजोड प्रस्तुती रहेको थियो ।

यस्तै महोत्सवको दशौं दिन आइतबार माघे संक्रान्तिको अवसरमा चर्चित गायिका सम्झना लामिछाने मगर, गायक पवन राना, गायक बल बिक्रम थापा मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरू प्रस्तुति रहने महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

‘अमुल्य भाषा संस्कृतिको संरक्षण गरौ, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सवको नवौं दिन १३ हजार दर्शकले महोत्सव अवलोकन र १८ लाखको कारोबार भएको प्रवक्ता मगरले जानकारी दिए ।

त्यस्तै महोत्सवको नवौं दिनसम्म कुल १ लाख दर्शकले महोत्सव अवलोकन र १ करोडको कारोबार भएको प्रवक्ता मगरले बताए ।

गत शुक्रबारदेखि व्यास-३ दमौली स्थित विपी वनवाटिकाको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा २ सय ३० वटा स्टल निर्माण गरिएको छ ।

महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्नुका साथै रु. एक करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको अध्यक्ष सुजित हिराचनले बताए । महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष हिराचन बताउछन ।

महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनको लागि राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु ल्याइएको महोत्सवकी निर्देशक बसुन्धरा घर्तीले बताइन् ।

त्यसैगरी महोत्सवको कृषि प्रदर्शनीमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । स्टलमा घरेलु तथा हस्तकला, होटेल तथा रेस्टुरेन्ट, डेरी, आइटि इलेक्टिकल्स, बैक तथा वित्तिय संस्था, आइसक्रीम स्टल, अटोमोवाइल्स स्थानीय उत्पादन प्रदर्शन तथा विक्रि स्थल लगायतका स्टलहरु रहेको घर्तीले बताइन ।

‘महोत्सवमा जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विद्यार्थीका लागि रु.५० र अन्यका लागि रु.७० टिकट शुल्क रहेको छ ।

महोत्सवले स्थानीय भाषा,धर्म, कला र संस्कृतिको प्रर्वद्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ ।

महोत्सवमा शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, बाल मेला राखिएको छ । त्यस्तै आदिवासी जनजातीहरुको जन्मदेखि मृत्युसम्मको संस्कारको प्रर्दशनी, जीवनशैली प्रस्तुती, घर नमूना निर्माण, सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय प्रतिभा प्रस्फुटन लगायतका आकर्षण रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *