तनहुँ । प्रतिनिधिसभा सदस्यका लागी आज वैशाख १० गते आइतबार देशका ३ क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ ।

सोही अनुरुप तनहुँमा पनि आज  उपनिर्वाचन हुँदैछ । यहाँ ९ दलका ९ जनै उम्मेदवार चुनावि मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तनहुँ-१ का १ लाख २३ हजार ३०५ जनाले मतदान गर्न पाउने भएका छन् । तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।

तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले मतदानका लागि सबै तयारी पूरा भएको भन्दै उपनिर्वाचनमा ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । कार्यालयका प्रमुख हरि प्रसाद ढकालले उपनिर्वाचन हुने सबै स्थानमा मतपत्र, मतपेटिका, परिचयपत्रसहित सबै सामग्री बोकेर कर्मचारी पुगिसकेको जानकारी दिए । ‘अब हामी मतदान पर्खेर बसेका छौं,’ प्रमुख ढकालले भने, ‘मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अनुरोध छ ।’

अहिले तनहुँ निर्वाचन क्षेत्र नम्बर-१ मा सबैको ध्यान छ । प्रतिनिधिसभा तर्फको तनहुँ-१ राष्ट्रपति पाएपछि खालि भएको क्षेत्र भएकाले यसको चर्चा बढी छ। गत मङ्सिर ४ गते यहिबाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछी यो क्षेत्र खालि भएकाले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रलाई दलहरूले प्रतिष्ठाको रूपमा लिएका छन्।

यहाँ गठबन्धनबाट तनहुँमा कांग्रेसले गठबन्धनबाट सांझा उम्मेदवार भनेर आफ्ना केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई मैदानमा उतारेको छ ।  भट्टराईले आफु रामचन्द्र पौडेलको उत्तराधिकारीका भएको र पौडेलको सपना पूरा गर्ने बताउँदै भोट मागेका छन् ।  कांग्रेसका उम्मेदवार भट्टराईले तनहुँको माटोमै हुर्किएर भिजेको भन्दै यस क्षेत्रको विकासका लागि आफूले विगतमा गरेको कामलाई अब झनै अघि बढाउने बताउछन् । उनि आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताउछन् ।

यता नेकपा एमालेले पुर्व प्रहरी प्रमुख (प्रहरी महानिरिक्षक) सर्वेन्द्र खनाललाई तनहुँमा उठाएको छ । खनाल गत मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडौमा पराजित भएका थिए । तर, उनलाई तनहुँ जन्मभुमी भन्दै एमालेले पुन:टिकट दिएको छ । एमालेका उम्मेदवार खनालले तनहुँको क्षेत्र नं १ लाई उत्कृष्ठ बनाउने बताउदै आएका छन् । देशमा प्रचुर सम्भावना भएको तर जिम्मेवार पदमा रहेर पनि पदिय भुमिका ननिभाउँदा विकास निर्माणमा पछि परेको उनि बताउछन् ।

तनहुँ-१ मा अर्का चर्चित उम्मेद्वार छन्, डा.स्वर्णीम वाग्ले । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । पुर्व कांग्रेसी वाग्ले मनोनयन दर्ताको केहि दिन अघि मात्रै कांग्रेस नेतृत्वको पेलानमा परेको आरोप लगाउदै रास्वपा प्रवेश गरी तनहुँ-१ का लागी उम्मेदवार बनेका हुन् । ‘

डा. स्वर्णिम वाग्लेले आफु टुरिष्ट उम्मेदवार नभएको बताउछन । सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र भएको वाग्लेको भनाई छ । उनले अर्को क्षेत्रमा गएर चुनाव लड्दैमा टुरिष्ट भनेर हेयको भावनाले हेर्न नहुने बताए । तनहुँ कुनै एउटा दलको गढ नभई लोकतन्त्रवादीको गढ भएको र रास्वपा पनि लोकतान्त्रिक पार्टी भएको वाग्लेको भनाई छ ।

यहाँ अन्य ६ दलका ६ जना उम्मेदवार पनि छन् । तनहुँमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार पनि उम्मेदवार रहेका छन् । तर तनहुँ-१ मा वैशाख १० मा यी ३ जना बीच नै मुख्य प्रतिष्पर्धा हुने चर्चा तनहुँमा गुञ्जिएको छ ।

तनहुँमा कांग्रेसको कारबाहीमा परेका गोविन्द राज जोशी पक्षको मत पनि अब रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेलाई आउने पक्का देखिएको छ । औपचारिक नबोलेको भएपनि अनौपचारिक रुपमा जोशीले यसपटक वाग्लेलाई सहयोग गर्ने देखिएको छ ।

गत मंसिरको निर्वाचनमा नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । यस्तै एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत ल्याएको थियो ।

आइतबार तनहुँ-१ मा हुने उपनिर्वाचनको क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ । यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन् । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए । उनका अनुसार पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ६ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्नेछ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।

यस्तै निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आह्वान गरिएको छ ।

‘निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति  सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिई सकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *