दमौली । डेंगुको संक्रमणबाट दमौलीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर ४ निवासी ५ वर्षीय रिवाज श्रेष्ठ रहेको व्यास-४ का वडासदस्य सरोज भण्डारीले जानकारी दिए ।
केहि दिन अघिदेखि डेंगु संक्रमित उनको पोखरा स्थित गण्डकी मेडिकल कलेजका उपचार भईरहेको थियो । तर बिहिबार उनको मृत्यु भएको वडासदस्य भण्डारीले जानकारी दिए ।
डेंगु संक्रमणबाट मृत्यु भएका श्रेष्ठ कन्काई ग्लोबल एकेडेमी दमौलीमा अध्ययनरत थिए ।
तनहुँमा अहिले ५ हजार ३ सय १० जना डेंगुबाट संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जसमा व्यास नगरपालिका भित्रका मात्रै करिब ४ हजार ४ सय ९४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
अहिले देशभरमा धेरै डेंगु संक्रमणको लिस्ट हेर्दा तनहुँ जिल्ला दोस्रो नम्बरमा रहेको छ । डेंगु संक्रमण हाल तनहुँको दमौलीमा भयावह बन्दै गएको छ । अहिले तनहुँको दमौली डेंगुको ‘हटस्पट’ बनेको छ । दैनिक रुपमा अस्पतालमा बिरामीको संख्या बढ्दो छ । अस्पताल र स्वास्थ्य संस्था जाने बिरामी डेंगु र ज्वरोको बढी देखिएको दमौलीका स्वास्थ्यकर्मी बताउछन ।
तनहुँमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । गत असार १६ मा व्यास– १० का ३५ वर्षीय पुरुष र असोज ८ गते एकैदिन दुई जना बालबालिकाको डेंगु संक्रमणबाट ज्यान गुमाए । असोज ८ गते व्यास नगरपालिका– २ की १३ वर्षीया बालिका र भानु नगरपालिका– १२ का ५ वर्षीय बालक रहेका छन् ।
असोज २ मा व्यास– ११ का १५ वर्षीय किशोर र गत असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै असोज २५ गते व्यास-४ का ५ वर्षीय बालकको पनि डेंगु संक्रमणबाट मृत्यु भएपछी तनहुँका तनहुँ ज्यान गुमाउनेको संख्या कुल ६ जना पुगेको छ ।
*यसअघि उमेर ५ वर्ष हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको । -सम्पादक