दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबले शनिबार तनहुँको व्यास-११ राम्चे ओडारे स्थित चेपाङ गाउँमा उक्त नि:शुल्क स्वास्थ्य शिविर गरेको हो ।
सो शिविरमा आँखा जाच, दन्त सेवा, सुगर तथा रगत जाच, जनरल स्वास्थ्य उपचार लगाएतको सेवा दिईएको क्लबका अध्यक्ष अनुज बिमलीले जानकारी दिए । उक्त शिविरबाट चेपाङ समुदाय सहित अन्य गरी कुल १ सय १२ जनाले सेवा लिएको अध्यक्ष बिमलीले बताए ।
शिविरमा स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधी पनि प्रदान गरिएको थियो । साथै शिविरमा निशुल्क सुगर परिक्षण र ब्लड गुप्र पहिचान समेत गरिएको अध्यक्ष बिमलीले जानकारी दिए ।
स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष एक स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोट¥याक्टले दुर्गम चेपाङ बस्तीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष बिमलीले जानकारी दिए ।
उनले थपे ‘स्वास्थ्य उपचारका लागी अस्पताल जानेको संख्या न्यून भएकाले चेपाङ बस्तीमा हामि शिविर संचालन गरेका हौँ ।’ स्वास्थ्य उपचार गराउन अस्पताल जानुपर्छ भन्ने परामर्श समेत सो अवसरमा दिईएको उनले बताए ।
क्लबले सो शिविरको अवसरमा ४६ घर चेपाङलाई एक घर एक प्राथमिक स्वास्थ्य उपचार बक्स प्रदान गरेको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेको बस्तीमा सामान्य उपचारको अभाव नहोस् भन्ने उद्देश्यले प्रथामिक उपचार किट हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्वास्थ्यको पहुँचबाट टाढा रहेको चेपाङ समुदायलाई लक्षित गरि गरिएको शिविरको स्वास्थ्य सचेतना बढाउन मद्दत पुग्ने बताए । चेपाङ समुदाय चेतनाको स्तरमा धेरै पछाडी रहेकाले उनीहरुको स्वास्थ्य,शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने प्रमुख अतिथि न्यौपानेले बताए । साथै रोट¥याक्टले स्वास्थ्य शिविरका लागि चेपाङ बस्तीलाई छनोट गरि उदाहरणीय काम गरेको बताए । उनले अघि भने ‘शिविरले अस्पताल र स्वास्थ्य संस्थामा नै गएर उपचार गराउनुपर्छ भन्ने चेतना समेत बढाउन सहयोग पुग्छ ।’
सो शिविरमा सह आयोजकको रुपमा रोटर्याक्ट क्लब अफ त्रिभुवन युनिभर्सिटी रहेको थियो । यस्तै समाधान हस्पिटल प्रालि, दमौली आँखा उपचार केन्द्र, ए वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालिको प्राविधिक सहयोगमा सम्पन्न शिविरलाई व्यास नगरपालिकाले पनि सहयोग रहेको थियो ।