तनहुँ । तनहुँमा २० हजार ४०८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि ५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार दुई सय ३८ खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको कार्यालयका प्रमुख शंकर बाबु अधिकारीले जानकारी दिए । यही फागुन १५ गतेदेखि फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा चार सय ७६ स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
स्वास्थ्य कार्यालय तनहुँले अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा व्यास नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र म्याग्दे गाउँपालिकामा फागुन १५ गते देखि १९ गते सम्म अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा ११५ खोप केन्द्र रहने छ ।
यस्तै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा भने दोस्रो चरणमा फागुन २२ गतेदेखि गाफुं २७ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । दोस्रो चरणमा १२३ खोप केन्द्र रहने छ । प्रत्येक दिन ६ घण्टा खोप सञ्चालन गरिने छ ।
तनहुँमा दुई हजार ४०८ भायल खोप आएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । एक भायल खोपमा दश डोज हुन्छ ।
गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च क्षमताको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई यो खोप लगाउन मिल्दैन । दुई सय ५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा खोप केन्द्र रहने कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । विद्यालय नभएका ठाउँमा पनि खोप केन्द्र रहने छन् ।
यसैगरी सहरका घना बस्ती, सुकुम्बासी बस्ती जस्ता ठाउँमा पनि खोप केन्द्र राखेर सेवा दिइने उनले जानकारी दिए । खोप केन्द्र निर्धारण गर्दा गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा एउटा, नगरपालिकाको प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र रहने व्यवस्था रहेको छ । अभियानको क्रममा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोपका अतिरिक्त डिपिटि–हेप बी–हिव, पिसिभी र आईपिभि खोप लगाइने छ ।
दादुरा रुबेला खोप अभियानको लक्ष्य लक्षित उमेरका बालबालिकालाई दादुरा रुबेला खोप लगाएर दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने रहेको उनको भनाइ छ । पाँच वर्ष मुनिका बालबालिकाको नियमित खोपको अवस्था पहिचान गरेर छुट भएका नियमित खोपको मात्रा लगाउन सहजीकरण गर्ने अभियानको उद्देश्य रहेको छ ।