दुलेगौडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामको आयोजना शिव महिमा बोलबम धार्मिक महोत्सव सुरु भएको छ ।
च्यवन धाम र गौं संरक्षण केन्द्रको एकिकृत विकास एवम् प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको च्यवन धाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।
साउन २१ गते सोमबारदेखि साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहाव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् ।
महोत्सवको सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका छन ।
सो अवसरमा मन्त्री पौडेलले शारिरिक भन्दा मानसिक रोगका विरामी बढ्दै गएको बताउदै धर्ममा लाग्ने व्यक्तिहरु मानसिक रुपमा स्वस्थ रहने बताए ।
धार्मिक संस्कृतिलाई जोगाउन सकिएमा मानसिक रोगबाट कम गराउन सकिने उनको भनाई थियो । उनले स्वास्थ्यसँग निर्माण भएका संरचनाले नागरिकलाई सन्तुष्टि दिन नसकेको बताए ।
पर्याप्त अस्पताल भएपनि पूर्वाधार र जनशक्तिका कारण पर्याप्त सुविधान दिन नसकिएको बताए । अब अस्पताल थप गर्नुभन्दा भएका अस्पताललाई सुविधा थप्दै जाने उनले प्रष्ट पारे ।
पूर्व मन्त्री आशा कोइरालाले जन्मभूमिमा रहेका अस्पताललाई विशेष चासो दिएर आएका समस्या समाधानमा लाग्न आग्रह गरिन् ।
गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले खर्चिला रोगका कारण नागरिक उपचार गर्न समस्यामा परेको बताउदै प्रदेशसभामा आफूले आवाज उठाईरहेको उल्लेख गर्दै संघबाट पनि यसलाई सम्बोधन गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।
महोत्सव मुल संयोजक नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कथावाचक पण्डित बालकृष्ण अर्याल, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित लगायतले बोलेका थिए ।