दमौली । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारमा सिसि क्यामरा जडान गरिएको छ । इकाईले २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको जनाएको छ ।
विभिन्न अपराधिक गतिविधि रोक्न, बजारलाई सुरक्षित राख्न, व्यापारी लगायत स्थानीयलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले सिसि क्यामरा पुन: जडान गरिएको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए ।
मल्लका अनुसार बजारमा जडान गरिएका पुरानो सिसि क्यामरा निकालेर सरसफाइ , मर्मत तथा अन्य केही थप गरि अहिले २० वटा सिसि क्यामरा संचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट निगरानी हुने सिसि टिभी क्यामेरा शान्तिनगर झोलुङ्गे पुल, अमरापुरी, गणेशमान चोक, भेटघाट चोक, कालिका मार्ग चोक, सफासडक चोक, तरकारि लाइन चोक, घन्टाघर चोक, महर्षि चोक, जिल्ला प्रशासन चोक, वन कार्यालय चोक लगायतका ठाउँमा जडान भएको सिसिटिभी व्यवस्थापन समितिका संयोजक पोष्टमान श्रेष्ठले बताए ।
पुरानो सिसि क्यामरा मर्मत एवम् नयाँ जडानको लागि व्यास नगरपालिकाले रु. ६ लाख सहयोग गरेको सभापति मल्लले जानकारी दिए ।
यस्तै सो कार्यको लागी माछापुच्छ्रे बैंकले रु. ३२ हजार, लक्ष्मी सनराईज बैंक लिमिटेडले रु. १० हजार, कुमारी बैंक लिमिटेडले रु. ८ हजार, हिमालयन बैंक लिमिटेडले रु. ७ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रु. २० हजार, एस.बि.आई. बैंक लिमिटेडले रु. ५० हजार, प्राईम कमर्सियल बैंक लिमिटेडले रु. १५ हजार, नबिल बैंक लिमिटेडले रु. ५० हजार र नेपाल बैंक लिमिटेडले रु. २० हजार गरी कुल दुई लाख १२ हजार सहयोग प्राप्त भएको मल्लले जानकारी दिए ।