दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा बिहिबार प्रतियोगिता सुरु भएको हो ।
आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य एवं पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोईराला रहेकी थिइन ।
कार्यक्रममा खेलकुदको विभिन्न विधाहरू सञ्चालन गरिएको थियो। तीमध्ये ३००० मि. रेस, २०० मि. रेस, लङ जम्प, ट्रिपल जम्प, शटपुट, र भलिबल छात्र क्वाटर फाइलन खेल प्रमुख आकर्षण बनेका थिए।
प्रतिस्पर्धामा विद्यालयका विभिन्न उमेर समूहका छात्र/छात्राहरूले आफ्नो खेलकुद क्षमता प्रदर्शन गरेका थिए ।
सो प्रतियोगिताले विद्यालय र गाउँका युवाहरुलाई खेलकुदको क्षेत्रमा उत्साहित गर्दै उनीहरूको शारीरिक क्षमता र मानसिक दृढता पनि विकास गर्न मद्दत पुर्याएको गाँउपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले बताईन ।
प्रतियोगिताले खेलकुदमा युवाहरूको सहभागिता बढाउने मात्र नभई सामाजिक एकता र समन्वयको भावनालाई पनि प्रबल बनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।