दमौली । टिप्परको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं.३२ लेखनाथकी ४१ वर्षिया अप्सरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
क्षेत्रीलाई गम्भिर चोट लागि घाईते भई उपचारको लागि जि.पि.कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाएकोमा ८:२२ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगर स्थित पृथ्वी राजमार्ग सडकमा खैरेनीटारबाट दमौलीतर्फ आउदै गरेको ग १ क ५८९६ नं. को खाली टिप्परले विपरित दिशाबाट आउदै गरेको प्र.३ ०१-०२२ च ६७७८ नं.को कार र ग १८ प ७७५२ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर सो दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक कास्कीको पोखरा महानगरपालिका वडा नं.३२ लेखनाथ बस्ने वर्ष २१ को दिपेश कुमार क्षेत्री सामान्य घाईते भएका छन् । सोही स्कुटर पछाडी सवार दिपेशको आमा वर्ष ४१ की अप्सरा क्षेत्रीको दुर्घटनामा परि मृत्यु भएको हो ।
मृतकको शव जि.पि.कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको शव गृहमा राखिएको छ । साथै प्र.३ ०१-०२२ च ६७७८ नं.को कार चालक तनहुँको शुक्लागण्डकी न.पा. वडा नं.-११ साँखे बस्ने वर्ष ३१ को महेश पौडेलको दाँहिने हातमा सामान्य चोट लागि सोही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
टिप्पर चालक धादिङको निलकण्ठ न.पा.वडा नं.२ भुलभुले बस्ने वर्ष ४० को प्रकाश गुरूङलाई प्रहरीको नियन्त्रणमा लिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।