दमाैली । विद्यार्थीलाई तातो पनियाेले डामेर घाइते बनाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका ३ जना विद्यार्थीलाई पनियाेले डामेर घाइते बनाउने शिक्षिका विरुद्ध पाँच दिनकाे म्याद थप गरिएकाे प्रहरीले जनाएको छ ।
विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीय सुष्मा श्रेष्ठविरुद्ध प्रहरीले पाँच दिनकाे म्याद थप गरेकाे हाे । बालकहरूको अभिभावकबाट जाहेरी लिई लेखापाल एवं शिक्षिका श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
विद्यालय समयमा होहल्ला गरेको भनी सजाय दिने क्रममा मङ्गलबार श्रेष्ठले तातो पनियाेले हान्दा तीन जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, “नाम गोप्य राखिएको एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भए पश्चात सो घटनाको सम्बन्धमा बुझ्दा अन्य नाम गोप्य राखिएको दुई जना समेत पीडित भएको खुल्न आएको छ ।”