काठमाडौँ । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापाईंले जम्मा ७३ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी भएका छन् । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराएको छ । बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो ।
अध्यक्ष डा.बाबुराम भट्टराईलाई निर्वाचन समिति संयोजकले शपथ गराएका हुन् । यस्तै अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराए ।