दमौली । तनहुँ जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसइई) मा छ हजार तीन सय पाँच जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमध्ये ३ हजार २६८ जना छात्रा र ३ हजार ३७ जान छात्र रहेका छन् ।
भोलि चैत ७ गते विहिबार बिहान ८ बजेबाट ११ बजेसम्म देशभर एकसाथ एसइई परीक्षा हुँदैछ ।
जिल्लामा सहभागीमध्ये साधारणतर्फ चार हजार ८ सय ५२, प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ एक हजार तीन सय २० परीक्षार्थी सहभागी हुने भएका शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।
तनहुँमा २६ वटा परीक्षा केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ४२ जना सह–केन्द्राध्यक्ष, ३१५ जना निरीक्षक, ६३ जना परीक्षा सहायक, १२६ जना कार्यालय सहयोगी र २०८ जना सुरक्षाकर्मी खटिने प्रमुख कट्टेलले बताए ।
जिल्लामा व्यास नगरपालिकाको निर्मल माविमा सबै भन्दा बढी ४११ जना परीक्षार्थीले एसइई परीक्षामा सहभागी हुने छन् भने सबैभन्दा कम परीक्षार्थी भानु नगरपालिकाको चन्द्रावती माविमा १४१ जना परीक्षार्थी सहभगी हुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।
प्राविधिक धारतर्फका चार विद्यालयको परीक्षा केन्द्र दमौलीस्थित निर्मल माध्यमिक विद्यालयमा तोकिएको इकाईले जनाएको छ ।
जिल्लामा भएका १० स्थानीय तहको १७२ विद्यालयमध्ये ११९ सामुदायिक विद्यालय र ५३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षामा दुई जना कारगारमा रहेका कैदी परीक्षार्थीसमेत सहभागी हुँदैछन् ।
उक्त एसइईको लागी रु.२४ लाख ३० हजार ८०७ बजेट रहेको इकाईले जनाएको छ ।