दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गति, मति र अहिले नेपालको अवस्थिति बदल्नुपर्ने बताए । अब पार्टी र कार्यकर्ता मुखी नभई जनता र देश प्रति समर्पित भएर काम गरेर सकारात्मक परिवर्तन ल्याउनुपर्ने महामन्त्री थापाले बताए ।
सो कुरा महामन्त्री थापाले तनहुँको दमौलीमा बुधबार नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ को दोस्रो सम्मेलन उद्घाटन समारोहमा बताएका हुन्। त्यस्तै २००७ साल देखिका हरेक परिवर्तन नेपाली कांग्रेसको अगुवाईमा भएको हुँदा कांग्रेसको अगुवाईमा भएको परिवर्तनका मुद्धालाई जनताका माझमा लिएर जान समेत महामन्त्री थापाले कार्यकर्तालाई आग्रह गरे ।
अहिले कांग्रेसको नेतामा नैतिकताको कमि भएको उनले सो अवसरमा बताए । उनले अगाडी भने’माथिको नेताको नाममा तलको नेता कार्यकर्ता झगडा गर्न हुँदैन ।’ पार्टी संगठन मजबुत बनाउने विषयमा निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय हुनु जरुरी रहेको महामन्त्री थापाले बताए ।
कांग्रेसको आगामी महाधिवेशन २०८४ अगाडि नै हुने महामन्त्री थापाले बताए । विभिन्न बहानामा पार्टीको महाधिवेशन धकेल्ने खेल भएपनि कानुनी हिसाबले निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाले बताए ।
‘नयाँ पार्टी मिसाएर महाधिवेशन धकेल्छु भन्ने हो कांग्रेसको झण्डा र चुनाव चिन्ह लिन पाइन्न ।’ महामन्त्री थापाले भने ‘महाधिवेशन समयमै हुनुपर्छ ।’ स्थानिय, प्रदेश र संघीय सरकार जुन तहमा रहेर भएपनि अहिलेको स्थिति भन्दा राम्रो काम आगामी दिनमा गर्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।