तनहुँमा दुई जना कैदीबन्दी एसइई परीक्षामा सहभागी

Byखवरबाटिका

७ चैत्र २०८१, शुक्रबार ०७:०५ ७ चैत्र २०८१, शुक्रबार ०७:०५ ७ चैत्र २०८१, शुक्रबार ०७:०५

दमौली । तनहुँमा दुई जना कैदीबन्दी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । जिल्लाको व्यास नगरपालिका ३ दमौली स्थित कारागार तनहुँका दुई जना कैदीबन्दी परिक्षामा सहभागी भएका कारागारका निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए ।

कारागारमा विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका उनीहरु हिजो बिहिबारदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएका कारागारका निमित्त जेलर अधिकारीले बताए ।

दुई मध्ये एक जना ग्रेडवृद्धि तर्फका हुन् भने अर्का एक जना नियमित तर्फको परिक्षा दिनेमा हुन् । सुनवल-५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का द स्पाइन सेकेण्डरी स्कुलका एक जनाले तीन विषयको ग्रेडवृद्धि गर्ने र अर्का आँबुखैरेनी घर भई निर्मल खुल्ला माविबाट नियमित तर्फ परिक्षा दिदैछन् ।

व्यास नगरपालिका–१ स्थित निर्मल माविबाट एसइई परीक्षाको फारम भरेका कैदीबन्दीलाई कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको निमित्त जेलर अधिकारीले बताए । प्रश्नपत्र र उत्तरपुस्तिका लिएर शिक्षक कारागार मै आउने र परीक्षा लिएर फर्किने व्यवस्था मिलाइएको उहाँले बताए ।

तनहुँ जिल्लाबाट एसइईमा छ हजार तीन सय पाँच जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये ३ हजार २६८ जना छात्रा र ३ हजार ३७ जान छात्र रहेका छन् । सहभागीमध्ये साधारणतर्फ चार हजार ८ सय ५२, प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ एक हजार तीन सय २० परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

तनहुँमा २६ वटा परीक्षा केन्द्रका लागि २६ जना केन्द्राध्यक्ष, ४२ जना सह–केन्द्राध्यक्ष, ३१५ जना निरीक्षक, ६३ जना परीक्षा सहायक, १२६ जना कार्यालय सहयोगी र २०८ जना सुरक्षाकर्मी खटिएको प्रमुख कट्टेलले बताए ।

जिल्लामा व्यास नगरपालिकाको निर्मल माविमा सबै भन्दा बढी ४११ जना परीक्षार्थीले एसइई परीक्षामा सहभागी हुने छन् भने सबैभन्दा कम परीक्षार्थी भानु नगरपालिकाको चन्द्रावती माविमा १४१ जना परीक्षार्थी सहभगी हुने शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ । जिल्लामा भएका १० स्थानीय तहको १७२ विद्यालयमध्ये ११९ सामुदायिक विद्यालय र ५३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *