दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही व्यक्तिको हल्लाखल्लाले व्यवस्था परिवर्तन नहुने बताए ।
पहिलो भएको कांग्रेस, दोस्रो भएको एमाले र तेस्रो भएको माओवादी सबै गणतन्त्रको पक्षमा हुँदाहुँदै केही व्यक्तिहरूले हल्लाखल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने महामन्त्री शर्माले बताए ।
नेपाली कांग्रेस तनहुँ प्रतिनिधि सभा क्षेत्री नं. २ द्वारा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनको अवसरमा तनहुँ आएका शर्माले नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालय दमौलीमा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।
राजा ल्याउने भन्ने राप्रपाको विद्यार्थी संगठनले देशभरिका स्ववियुमा झापाको एउटा कलेजमा मात्रै जितेको महामन्त्री शर्माले बताए।
‘हामि एकदम स्पष्ट के हुनपर्छ भने निराशा र असन्तुष्टि सुन्दै उस्तै लाग्छ तर दुइटा भिन्न कुरा हुन ।’ महामन्त्री शर्माले भने ‘असन्तुष्ट भएको बेलामा त्यसलाई निराशाको भाष्य बनाएर, निराशा हो र यसको अन्त्य चाहि पुरानो व्यवस्था तिर फर्केर हुन्छ भन्नु अत्यन्तै भ्रमको कुरा हो ।’
कांग्रेस पार्टी हिजो भन्दा आज बदलिएको उर्जाशिल पार्टी भएको भन्दै उनले केहि नवीनताका साथ नेपाली कांग्रेस पार्टि अघि बढ्नुपर्ने बताए।
‘नेपाली कांग्रेस पार्टि अहिलेको बेलामा बलियो बन्नु भनेको नेपालको समुन्नतिको निरन्तरताको यात्रामा नवीनता गासेर जाने कुरा हो ।’ महामन्त्री शर्माले भने ‘यो निरन्तरता छ, यो निरन्तरता अगाडी जानुपर्छ, तर केहि नवीनताका साथ नेपाली कांग्रेस पार्टि जानुपर्छ । त्यसो गरे मात्रै जनतामा विश्वास पाउन सकिन्छ ।’
महामन्त्री शर्माले भने ‘एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई माया गरेन भने, एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई हात दिएन भने, एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई साथ दिएन भने जनताले काङ्ग्रेसलाई माया गर्दैन ।’
‘विल्कुल प्रष्ट कुरा के हो भन्दा नेपाली कांग्रेसको महाधिवेशन ०८४ को निर्वाचन अगाडी हुन्छ ।’ उनले भने ‘त्यसको लागी क्रियाशील सदस्यताको वितरण, नविकरण यी सबै कुरामा जिल्लामा व्यवस्थित गर्न अनुरोध गर्छु ।’