दमौली । तनहुँमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याब टेक्निसियन दिपक श्रेष्ठले चालु आर्थिक वर्ष २०८१/८२ को चैत १० गतेसम्म एक सय ७९ जनालाई क्षयरोग सङ्क्रमण पुष्टि भएको बताए । यो क्रम असार मसान्तसम्म बढ्ने उनको भनाइ छ । यस्तै क्षयरोगबाट चालु आर्थिक वर्षमा १५ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

गत वर्ष तीन सय २६ जनामा सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै व्यास नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको छ ।

व्यास नगरपालिकामा ५३, शुक्लागण्डकी नगरपालिकामा २३, भानु नगरपालिकामा ११ जना, भिमाद नगरपालिकामा ६, म्याग्दे गाउँपालिकामा ११, बन्दीपुर गाउँपालिकामा १९, आँबुखैरेनी गाउँपालिकामा २०, देवघाट गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा ७ र घिरिङ गाउँपालिकामा १४ जना क्षयरोगका बिरामी रहेको ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिए ।

जिल्लामा परीक्षणको क्रम बढाएर सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन सुरु गरिएको उनले बताए । उनले यस वर्ष आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गर्दा सङ्क्रमणहरु पत्ता लाग्न सहयोग पुगेको बताए ।

‘‘आर्टिफिसियल इन्टिलिजेन्स (एआई) एक्सरे मेसिनद्वारा जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ गाँउपालिका र बन्दिपुर गाउँपालिकामा क्षयरोग परीक्षण गरिएको थियो,’’ उनले भने, ‘‘परीक्षणमा ऋषिङ गाउँपालिकामा दुई जना र घिरिङ गाँउपालिकामा दुई जना र बन्दिपुर गाउँपालिकामा जना तीन जना क्षयरोगका विरामीहरु पत्ता लागेको छ ।’

यहि चैतको १४ र १५ गते भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा एआई एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गरिने ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिए ।

तनहुँमा क्षयरोग निको हुने दर ८७ दशमलव ५ प्रतिशत रहेको ल्याब टेक्निसियन श्रेष्ठले बताए । ‘‘समयमै रोग पत्ता लागेर नियमित औषधी उपचार गरेमा क्षयरोग निको हुन्छ,’’ ल्याब टेक्निसियन श्रेष्ठले भने, ‘‘क्षयरोगको लक्षण देखा परेमा तुरुन्त परीक्षण गरी औषधी सुरुवात गर्नुपर्छ ।’

छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने उनले बताए । क्षयरोगीको उपचारका लागि जिल्लामा एक सय ११ उपचार केन्द्र छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उनले बताए । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, ल्याब टेक्निसियन श्रेष्ठले भने, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

उनले जिल्लाको तीन वटा पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताए । ‘भानु नगरपालिका, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्य राखिएको छ ।’ ल्याब टेक्निसियन श्रेष्ठले भने, ‘त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको छ ।’

क्षयरोगको पछिल्लो अवस्था हेर्दा भयावहको अवस्था रहेको उनले बताए । एक जना क्षयरोगीले १५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले जोखिम भएको ल्याब टेक्निसियन श्रेष्ठले बताए ।

धुम्रपान र मध्यपान गर्नेलाई यो रोग सङ्क्रमण बढी हुने देखिएको ल्याब टेक्निसियन श्रेष्ठले बताए । उनका अनुसार कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने गर्दछ । जिल्लामा क्षयरोग परीक्षणका लागि माइक्रोस्कोपि सेन्टर १४ वटा रहेको ल्याब टेक्निसियन श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाइदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *