शुक्लागण्डकी नगरपालिकाको ‘सेवा प्रवाह केन्द्र’ अवलोकन

Byखवरबाटिका

१५ चैत्र २०८१, शनिबार ०७:४५ १५ चैत्र २०८१, शनिबार ०७:४५ १५ चैत्र २०८१, शनिबार ०७:४५

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सञ्चालन गरेको ‘सेवा प्रवाह केन्द्र’ को बुधबार संघ र प्रदेश सरकारसहित विदेशी प्रतिनिधिहरुले अवलोकन गरेका छन् । स्थानीय सरकारले प्रवाह गर्ने सेवालाई झण्झट रहित रुपमा प्रदान गर्दै आएको तनहुँको शुक्लागण्डकी नगरपालिकाको काम बारे अवलोकन गर्न सो टोलि पालिकामा आएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा गरिएको नगरप्रमुख पण्डितले जानकारी दिए । ‘सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा विभिन्न कोठा चाहर्नुपर्ने बाध्यताको अन्त्यका लागि केन्द्र संचालन गरेका हौँ’, नगरप्रमुख पण्डितले भने, ‘केन्द्र सञ्चालनमा आएपछि सेवाग्राहीले सहजरुपमा सेवा पाउनुभएको छ।’

नगरपालिकाको भुईँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा सेवाग्राहीले फाइल बुझाएपछि केन्द्रका कर्मचारीले सम्बन्धित सबै फाँट/शाखामा लगेर काम सम्पन्न गरी फाइल पुनः सेवाग्राहीलाई बुझाउछन् ।

नगरपालिकाले दुई वर्ष अघिदेखि सञ्चालन गर्दै आएको सेवा प्रवाह केन्द्रबाट सेवा लिदा नागरिकहरु फाइल बोक्दै कोठा कोठा हिड्नुपर्ने झण्झट अन्त्य भएको नगरपालिकाका उपप्रमुख खुमबहादुर वि.क (राजु)ले जानकारी दिए । उनले भने ‘आफ्नो कामको जानकारी सहित आवश्यक कागाजत केन्द्रमा बुझाएपछि बाँकी काम नगरपालिकै कर्मचारीले सम्पन्न गरि नागरिकलाई बुझाउने गर्दछन् ।’

सेवाग्राहीलाई दिने सेवाको असल अभ्यास देशमै नमुना भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिं तामाङ्गले बताए ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रादेशिक तथा स्थानीय शासन सुढृणीकरण कार्यक्रमका विदेश प्रतिनिधिहरुले सेवा प्रवाह केन्द्रले पारेको प्रभावको बारेमा जानकारी लिएका थिए । साथै थप व्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता समेत सो अवसरमा टोलिले व्यक्त गरेका थिए ।

यस्तै सेवा प्रवाह केन्द्र सञ्चालन गर्दा सेवा प्रदानमा भएको सहजता, नागरिकमा देखिएको सन्तुष्टी र थप व्यवस्थित गर्न देखिएको चुनौती लगायतका विषयमा अवलोकनमा आएका प्रतिनिधिलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे जानकारी दिए ।

कुनै गुनासो वा प्रकृया नमिले सोही केन्द्रबाट समाधानका लागि परामर्श समेत प्रदान गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत लामगादेले जानकारी दिए। सेवाग्राहीलाई आफ्नो काम भईञ्जेलसम्मका लागि प्रतिक्षा गर्न केन्द्र परिसरमा आरादायी सोफा सहितको व्यवस्था समेत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *