दमौली । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँले शनिबार विरोध सभा सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौंमा भएको पूर्व राजावादीहरूको आन्दोलनमा भएको पत्रकारको हत्या र सञ्चारगृहमा गरिएको आगजनी तथा तोडफोडविरुद्ध तनहुँका पत्रकारले शनिबार सदरमुकाम दमौलीको व्यास नगरपालिका-३ अनसन चौतारीमा विरोध प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको कार्यक्रम स्थगित गरी विरोध सभा गरिएको हो । काठमाडौँमा पत्रकार सुरेश रजकको हत्या, कान्तिपुर टिभी, अन्नपूर्णपोस्टको कार्यालयमा गरिएको आगजनी तथा तोडफोड र अनलाइन खबरका पत्रकारमाथि भएको आक्रमणविरुद्ध पत्रकारले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध सभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रदीप काफ्ले, पूर्व अध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य लगायतले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गर्दै सञ्चारमाध्यममा भएको आक्रमण निन्दनीय र भर्सनायोग्य रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले महासंघको केन्द्रीय समितिले तय गर्ने थप आन्दोलनका कार्यक्रमलाई जिल्लामा सञ्चालन गरिने बताए।