दमौली। डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज आइतवार माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
मृत्यु हुनेमा माइक्रोमा सवार मनाङका ४० वर्षिय मन घले र स्कुटरमा सवार ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
घलेको लमजुङस्थित नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा र स्कुटरमा सवार महिलाको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक थापाले बताए ।
घले मनाङ जिल्लाको नासौं गाउँपालिका वडा नं. ८ ताचैंमनाङको जन विकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।
दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक बेसीसहर नगरपालिका–८ बस्ने ४१ वर्षीय दीपेन्द्र श्रेष्ठलाई चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा माइक्रोमा सवार बेसीसहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दुधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमारा राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुंगा बस्ने ३५ वर्षीय अधिस राई, सोलुखुम्बु बस्ने ३ वर्षीय कुमार राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको सिउडीबारस्थित भोटेओडार अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।