दमौली, वैशाख १६ गते । तनहुँको म्याग्दे गाउँपालिका-४ र ५ मा रहेको छाङ युवा सञ्जालको आयोजनामा वैशाख २६ गतेदेखि प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
‘कला संस्कृति र खेलकुदको प्रवर्धन, हाम्रो गाउँ हाम्रो ठाउँ छाङ हाम्रो पहिचान’ भन्ने नाराका साथ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको छाङ युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरुङ (निशान) ले जानकारी दिए ।
मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले प्रतियोगिताबारे जानकारी गराएको हो ।
रित्तिदै गएको छाङ गाउँको पुनजागरण गर्न र छाङको आन्तरिक पर्यटन प्रबर्धनका लागि प्रतियोगिता आयोजना गरिएको छाङ युवा सञ्जालका अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार पाँच सय नगद पुरस्कार राखिएको छ । त्यस्तै सेमिफाइनलका दुई टिमलाई रु १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, मिडल व्लकर, डिफेन्डर सर्भर र काेचलाइ समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।
राम्रो अवसरको खोजीमा छाङका स्थानीय सहर बजार झर्दै गएको र खेलकुदको माध्यमबाट गाउँमा बोलाउन सो प्रतियोगिता गर्न लागेको प्रतियोगिता कार्यक्रम संयोजक गौरवराज रानाले जानकारी दिए ।
म्याग्देभित्रका वडालाई टिम दर्ताका लागि रु दुई हजार पाँच सय र बाहिरका लागि रु पाँच हजार शुल्क तोकिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
प्रतियोगिता सञ्चालनका लागि म्याग्दे गाउँपालिकाले रु एक लाख सहयोग गरेको छ भने अन्य दाताबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको आयोजकले जनाएको छ ।
उक्त खेलमा दुई जना सम्म राष्ट्रिय खेलाडी राख्न पाइने र अन्य सबै खेलाडीहरू वडा भित्रकै हुनुपर्ने अन्यथा रद्द हुने खेल संयोजक सन्तोष रानाले जानकारी दिए । वैशाख २५ गतेसम्म टिम दर्ताकाे समय राखिएको आयोजकले जनाएको छ ।