बन्दीपुर । हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्‍यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ।

यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाए? दैनिक जीवनको दौडधुप बिसाउन आरामले पल्टेर हिमाल हेर्न पाए? वा भित्रै रेस्टुरेन्टका विभिन्न परिकारको स्वाद लिन पाए? साथीभाइ वा परिवारसँग खानेकुरा खाँदै मजा लिन पाए?

केबलकारमा यस्ता सुविधा लिन अब विदेश गइरहन पर्दैन। तनहुँ, बन्दीपुरमा यी सबै सुविधासहितको केबलकार सञ्चालन हुँदैछ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्था गर्न लागेको हो।


पर्यटनमा नौलो स्वादको आवश्यकता बढ्दै गएको बुझेर नयाँ सुविधासहितको केबलकार सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए।

‘आगामी नयाँ वर्षबाट बन्दीपुर केबलकार खुला हुनेछ। खान वा सुत्न मिल्ने रेस्ट्रो-कार सञ्चालन चल्न भने थप ६ महिना लाग्नेछ,’ शर्माले भने, ‘केबलकार चलेपछि बन्दीपुर घुम्न आउनेले थप मनोरञ्जन लिन पाउने छन्।’

उनका अनुसार कम्पनीले दृश्यावलोकनका निम्ति २१ वटा केबलकार राख्दैछ। यी केबलकार अन्य ठाउँकाभन्दा अलिकति फरक हुनेछन्। यसमा पारदर्शी सिसाको भाग धेरै हुनेछ। सामान्य यात्रा गर्ने केबलकार र रेस्ट्रो-कारको डब्बा हेर्दा उस्तै देखिए पनि भित्र फरक विशेषता र सुविधा हुनेछ। भित्र खानेकुरा खान टेबल राखिएको हुन्छ। यस्तो रेस्ट्रो-कार ११ वटा राख्ने तयारी भइरहेको छ। शर्माका अनुसार रेस्ट्रो-कारको डिजाइन जर्मन कम्पनी कार्गाे टेकले गरिरहेको छ।

‘रेस्ट्रो-कारको एउटा डब्बा बनाउन डेढ कराेड रूपैयाँ खर्चेका छौं,’ उनले भने, ‘११ वटा बनाउँदा १६ कराेड ५० लाख खर्च हुन्छ।’

हिमाल-पहाडको दृश्य हेर्दै, साथीभाइ, परिवारसँग रमाउँदै, खानेकुरा खाँदै डब्बाभित्र बसेर आनन्द लिन चाहनेका लागि रेस्ट्रो-कार उपयुक्त हुने उनको भनाइ छ।

यो सुविधा लिन यात्रुले रेस्ट्रो-कार बुक गर्नुपर्छ। एकपटकमा एक घन्टाका लागि बुकिङ हुन्छ। एक घन्टाको शुल्क २५ हजार रूपैयाँ। एउटा रेस्ट्रो-कारमा आठ जनासम्म बस्न सकिन्छ। रेस्ट्रो-कार एक घन्टामा सात पटक तलमाथि गराइने शर्माले बताए।

एक घन्टाभन्दा धेरै समय बस्न चाहे फेरि बुकिङ गर्नुपर्छ। त्यसको थप २५ हजार रूपैयाँ शुल्क लाग्छ।

‘खानाका लागि सुरूमै कम्पनीले प्याकेज दिएको हुन्छ, त्यसबाटै छान्ने हो,’ शर्माले भने, ‘भित्रै डिजिटल प्यानल बाेर्ड राखिएकाे हुन्छ, खानेकुरा थप्नु परे त्यहीँबाट अर्डर गर्न सकिन्छ।’

सुरूमा लिएको प्याकेजभन्दा थप खानेकुरा अर्डर गर्दा त्यसको बेग्लै शुल्क लाग्नेछ।

रेस्ट्रो-कारमा उपलब्ध खानेकुरा कम्पनी आफै‌ंले तयार गर्छ। शाकाहारी, मांसाहारी खानेकुराका साथै पेयपदार्थ उपलब्ध हुन्छ। केबलकारकाे तल्लाे र माथिल्लाे स्टेसनमा भएको रेस्ट-जाेनबाट अर्डरअनुसार खाना डेलिभरी दिन सकिने उनले बताए।

रेस्ट्रो-कारको अर्काे विशेषता पनि छ। यात्रुले आराम गर्न चाहे भित्रै ओछ्यानमा सुत्न पाउँछन्।

‘रेस्टुरेन्टको प्याकेज लिन्नँ, एक घन्टा आराम गर्छु भन्नेलाई उही शुल्कमा हामी बेड तयार गरिदिन्छाैं,’ उनले भने, ‘यसमा सुत्दा काेक्राेमा झैं मजा लिन सकिन्छ।’

यहाँ सामान्य यात्राको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चल्छ। रेस्ट्रो-कार भने बेलुका ५ बजेदेखि नाै बजेसम्म चल्नेछ। रेस्ट्रो-कार दैनिक सय जनालाई सेवा दिने क्षमताको हुनेछ।

हामीकहाँ केबलकार भ्रमण र दर्शनका लागि मात्र प्रयोग हुँदै आएको छ। अब मनोरञ्जनको सुविधासहित नयाँ अवधारणामा सञ्चालन हुन लागेको छ। यस्तो सुविधा भएको केबलकार हालसम्म दक्षिणा एसियामै नभएको शर्माको दाबी छ।

‘केबलकारभित्रै शाैचालय बनाउन पनि अध्ययन गरिरेहका छौं। डब्बाको भार बहन क्षमता के कति छ भनेर बुझिरहेका छौं,’ उनले भने, ‘जमाना र आवश्यकताअनुसार फरक सुविधा ल्याउनु पर्छ।’

एसियाकै ठूलो दाबी गरिएको विमलनगरको सिद्धगुफा र बन्दीपुर घुम्न आउनेका लागि यो केबलकार आकर्षण बन्ने उनको विश्वास छ।

‘बन्दीपुर आउने पर्यटकलाई नयाँ र छुट्टै किसिमको आनन्द दिन रेस्ट्रो-कार योजना बनाएका हौं,’ उनले भने, ‘पर्यटकीय गन्तव्यमा साहसिक खेलसँगै मनोरञ्जन दिन सके पर्यटकको आगमन बढ्नेछ।’

दृश्य अवलोकन र रेस्ट्रो-कार दुवै किसिमका केबलकारको लागत एक अर्ब ६६ करोड ८९ लाख रूपैयाँ रहेको उनले जानकारी दिए। २०७५ साल साउनबाट सुरू केबलकार चार वर्षमा बनाइसक्ने कम्पनीको लक्ष्य थियो। कोरोनाका कारण बीचमा रोकियो। अहिले काम अन्तिम चरणमा छ। नयाँ वर्ष २०८० बाट सञ्चालनमा ल्याउने तयारी छ।

यहाँको माथिल्लो स्टेसनमा चार तारे स्तरको होटल पनि बनिरहेको छ। १७ तलाको यो होटललाई ‘क्वीन टावर’ नाम दिइएको छ। शर्माका अनुसार होटलको मुख्य विशेषता भनेको १७ औं तलाबाट बन्दीपुर आसपासका र काठमाडौं उपत्यका देखिनु हो।

क्वीन टावरमा ८४ वटा कोठा हुनेछन्।

‘पाँचतारे होटल स्तरको क्वीन टावर बन्दीपुरकै सुविधासम्पन्न होटल हुनेछ,’ शर्माले भने, ‘केबलकार सञ्चालनमा आएको एक वर्षपछि होटल खुला हुनेछ।’

केबलकार, रेस्ट्रो-कार र होटलसहितको पूरा कामको लागत भने तीन अर्ब रूपैयाँ रहेको उनले बताए।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले केबलकार चलेपछि आइपिओ जारी गर्ने पनि घोषणा गरेको छ। यसनिम्ति एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको शर्माले जानकारी दिए।-सेतोपाटिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *