तनहुँ । कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ १ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न मतपत्रमा समेटिएको हो ।
जसअनुसार एमालेको चुनाव चिह्न पहिलो नम्बरमा छ भने अन्तिम ट्राफिक प्रहरी भएको स्वतन्त्रको चिह्न रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को मतपत्रमा १० चुनाव चिह्न रहेको छ ।
आगामी मङ्सिर ४ मा गठबन्धन र एमालेको चुनावी भिडन्त हुने पक्का भएको छ ।
तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका एकबहादुर राना चुनावी मैदानमा छन् । उनीहरुलाई कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको पनि चुनौती छ । यस्तै तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी र एमालेका किरण गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार तनहुँमा १४२ वटा मतदानस्थल र ३०५ वटा मतदान केन्द्र कायम भएको छ ।
आसन्न चुनावका लागि १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा २ लाख ४४ हजार ३४० मतदाता रहेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाइसराइँ गरेका र दिवङ्गत भएकाको नामावली अद्यावधिक गरेर मतदाता सङ्ख्या कायम गरिएको हो । स्थानीय तहको चुनावपछि ४ हजार १५५ मतदाता थपिएका हुन् ।
तनहुँ प्रतिनिधिसभा क्षेत्र नं १ मा कुल ४२ वटा वडा, ६९ मतदान स्थल, १५२ मतदान केन्द्र र १ लाख २३ हजार ४९० मतदाता रहेका छन् । जसमा प्रदेश सभा क्षेत्र नं १ मा २२ वटा वडा, ३६ मतदान स्थल, ८२ मतदान केन्द्र र ६७ हजार १४४ मतदाता छन् भने प्रदेश सभा क्षेत्र नं २ मा २० वटा वडा, ३३ मतदान स्थल, ७० मतदान केन्द्र र ५६ हजार ३४६ मतदाता रहेका छन् ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा कुल ४३ वटा वडा, ७३ मतदान स्थल, १५३ मतदान केन्द्र र १ लाख २५ हजार ५ जना मतदाता रहेका छन् । जसमा प्रदेश सभा क्षेत्र नं १ मा २१ वटा वडा, ३७ मतदान स्थल, ८० मतदान केन्द्र र ६७ हजार ३२ मतदाता छन् भने प्रदेश सभा क्षेत्र नं २ मा २२ वटा वडा, ३६ मतदान स्थल, ७३ मतदान केन्द्र र ५७ हजार ९७३ मतदाता रहेका छन् ।