तनहुँमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

Byखवरबाटिका

२० चैत्र २०७९, सोमबार ०८:१० २० चैत्र २०७९, सोमबार ०८:१० २० चैत्र २०७९, सोमबार ०८:१०

तनहुँ । आगामी वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

२०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले उपनिर्वाचन गर्न लागिएको हो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

उपनिर्वाचनका लागि तनहुँमा सात सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए ।

निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

तनहुँ–१ मा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता कायम भएको छ ।

मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box