तनहुँ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा भएको भनेर कांग्रेसले भ्रम छर्ने काम गरेको भन्दै कलाविहीन नाटक बन्द गर्न चेतावनी दिएका छन् । जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताएका छन् ।

तनहुँ १ को उपनिर्वाचनमा प्रभावशाली मानिएका जोशीको समर्थन लिन कांग्रेसले उनीमाथिको कारबाही फिर्ता भएको जनाएको थियो । तर, जोशीले कांग्रेसको आइतबारको निर्णयमा आफ्नो नाम उल्लेख नभएको भन्दै २०७९ अघि भएका निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेकाहरूले माफी माग्नुपर्ने भनेकोमा उल्टै देउवाले माफी माग्नुपर्ने बताएका छन् ।

जोशीले वक्तव्य यस्तो छ :

हिजो नेपाली कांग्रेसले गरेकाे निर्णय ( जोशीको कारवाही फुकुवा)मा मेरो नाम पनि उल्लेख छैन। साथै २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको छ।हेक्का रहोस् हामी नव सामन्तीहरुकाे दास होइनौँ। बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पु-याउने शेर बहादुर देउवा लगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता सँग माफी माग्नु पर्छ। अनि मात्रै सच्चा कांग्रेसहरु प्रति न्याय हुन्छ।

नेपाली काँग्रेसले हिजो मञ्चन गरेको नाटकमा न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै। पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने र कुर्सी मोहका लागि गलतलाई गलत हो भन्न नसक्ने,बोल्नु पर्ने ठाउँमा चुँ समेत नगर्ने नेपाली कांग्रेसका युबा नेताहरुको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको छ। साथै यस्तो नेतृत्वले देशको कस्तो खाका कोर्ने हो भन्ने चिन्ता पनि लागेको छ ।

भनिन्छ जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ।१२ बुँदे सहमति पछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटो तर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ। अतः सबै भन्दा ठूलो कुरा देश हो। देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीती गरुँला। मैले मेरो ब्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनु पर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ । सबै मिलेर देशको रक्षा गर्न पर्ने बेला आएको छ ।

यो झुटको खेतीमा मलजल नगर्न र सम्पूर्ण सच्चा नेपाली कांग्रेसका समर्थकहरुलाई पार्टीको मूल्य र मान्यताबाट बिचलित भएर गरिएको निर्णयाधार बिनाका यस्ता बकम्फुसे कुराको पछि नलाग्न र सो निर्णयको घोर भर्त्सना गर्न समेत अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box