तनहुँ । तनहुँको याम्पा स्थित आधिखोलामा ट्रक पल्टिई घरमा ठोक्किदा ८ जना घाइते भएका छन् ।
बुधबार बिहान ९:२० बजेको समयमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ५ आधिखोला स्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जादै गरेको ना ४ ख १९७३ नं को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते हुनेमा तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ५ बस्ने १२ वर्षीय आयुस भुजेल, ६ वर्षीया आयुसा भुजेल, ५० वर्षीय चेत बहादुर घर्ती, ५५ वर्षीय सन बहादुर भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेल रहेका छन् ।
सो दुर्घटनामा सोही स्थान बस्ने पैदल यात्रीहरु र सोही घरका मानिसहरु गरी ८ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको तत्काल उद्दार गरी उपचारको लागी हार्डजोर्नी अस्पताल आबुँखैरेनीमा तनहुँमा प्राथमिक उपचार पश्चात घाइतेहरुको थप उपचारको लागी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
घटनाको विषयलाई लिएर राजमार्ग सडक पूर्ण रुपमा बन्द रहेको र उक्त बाटो खुलाउनको लागी आवश्यक पहल भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।