काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय भ्रष्टाचार गर्ने शैली बदलिएको बताएका छन् ।
कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुदै सुन र हिरातर्फ डाइभर्ट भएको उनले बताए ।
‘पछिल्लो समयमा नगद प्रतिबन्धित छ, सेयर पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिएला भनेर हिरा र सुनमार्फत भ्रष्टाचार हुने गरेको छ’, वाग्लेले भने, ‘कागज छैन, पेपर वर्क छैन, बैंकमा राखेको छैन तर मूल्य चाहिँ छ ।’
भ्रष्टाचार गर्ने विधि बदलिएकाले अहिले भ्रष्टाचारीले पनि प्रमाणित गर र मलाइ जेल हाल भन्न सक्ने अवस्था आएको उनले बताए ।
‘पुरानो विधिमा नगदै भ्रष्टाचार हुन्थ्यो, त्यो पैसा गाडेर राखिन्थ्यो, तकियामा राखिन्थ्यो तर पछि शेयरमार्फत भ्रष्टाचार हुन थाल्यो । हाकाहाकी पैसा नदेखिने कसैको नाममा शेयर राखिदिने चलन थियो । यो पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिने भएपनि सुन र हिरामार्फत भ्रष्टाचार हुन थालेको छ’, उनले भने ।
आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा. वाग्लेले आम्दानी र खर्चको हिसाबकिताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताए ।
साथै अहिलेको भुटानी शरणार्थी प्रकरणमा पनि राष्ट्रको विश्वसनियता जोडिएको भन्दै यो विषय सामसुम पार्न नहुने उनको भनाइ छ ।
भ्रष्टाचारीहरुलाई रंगेहात समात्नका लागि स्टिङ अप्रेसनको विधि स्थगित गर्नुले पनि प्रणाली भ्रष्टाचार मैत्री भएको उनको धारणा छ । उनले भने, पहिला स्टिङ अपरेसन थियो । त्यसलाई कोर्टले बन्द गरिदियो । भ्रष्टहरुले अदालतलाई पनि प्रभावमा पारिसके । हामीले सिस्टमलाई करप्सन फ्रेन्ड्ली बनाइसकेको हो कि भन्ने भइसक्यो ।’