काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र मलेसियन कम्पनी रि–निकोला कम्पनीबीच सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा भएको सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र रि–निकोलाका प्रबन्ध निर्देशक बोमहिदि अब्देलालीले हस्ताक्षर गरे ।

ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति भएको लगानी बोर्डको कार्यालयले जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले यसबारे जानकारी गराएको हो । सम्झौताअनुसार रि–निकोलाले अनुमतिपत्र पाएको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुनेगरी प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी अध्ययन गर्नेछ । करिब २६ करोड अमेरिकी डलर लागत अनुमान गरिएको परियोजनाबाट वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रीन एमोनिया र २ लाख ८६ हजार ९७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने अनुमान गरिएको छ ।

सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रि–निकोलाले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।

उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० गते बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रि–निकोलासँग हुने समझदारीपत्र को मस्यौदा गत भदौ ८ गते बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *