तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट नाम संकलन गरी १६८ जना आकांक्षीको नाम केन्द्रीय कार्यालयमा पठाएको सभापति शुक्रराज शर्माले जानकारी दिए ।

जसमा तनहुँ जिल्लाबाट मात्रै १७ जना उम्मेदवार बन्न आकांक्षा राख्नेमा रहेका छन् । तनहुँबाट ध्रुव वाग्लेदेखि सरिता गुरुङसम्म आकांक्षी रहेका छन् ।

तनहुँबाट अन्य क्लस्टरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, जिल्ला सदस्य नोक बहादुर विक, पुर्व जिल्ला सभापति एवं महासमिति सदस्य रघुनाथ पौडेल, महासमिति सदस्य रामचन्द्र पोख्रेल, महाधिवेशन प्रतिनिधि रेशमलाल गुरुङ, महासमिति सदस्य एवं गण्डकी प्रदेश सदस्य लक्ष्मी आचार्य र पुर्व जिल्ला सचिव समुन्द्र गोदार लगायतको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा उम्मेदवार बन्न आकांक्षा राख्नेमा महिला तर्फ महासमिति सदस्य चिनी पोखरेल, महासमिति सदस्य एवं गण्डकी प्रदेश सदस्य मायादेवी राना आले, जिल्ला सदस्य मिरा जोशी, जिल्ला सदस्य पवित्रा घिमिरे, महासमिति सदस्य पवित्रा देवी पौडेल र महासमिति सदस्य एवं गण्डकी प्रदेश सदस्य सरिता गुरुङ रहेका छन् ।

यस्तै अपाङ्गता/अल्पसंख्यक क्लस्टरमा पुर्व जिल्ला कोषाध्यक्ष छत्रराज भण्डारी, क्षेत्रिय प्रतिनिधि पदम बहादुर परियार, महाधिवेशन प्रतिनिधि प्रकाश पन्थ र जिल्ला सदस्य राम बहादुर अधिकारी सिफारिस भएका छन् ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि पदावधि सकिएर २० सिट रिक्त हुँदैछ । नेकपा एमालेका नौ,नेपाली कांग्रेसका चार, नेकपा माओवादीका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जनता समाजबादी पार्टी जसपाका एक र एकजना स्वतन्त्र सांसद राष्ट्रिय सभाबाट बाहिरिँदै छन् ।

राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल तथा गठबन्धनको समर्थनबाट निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि राष्ट्रियसभाबाट बाहिरिँदैछन् । रिक्त १९ सिटको लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

एउटा सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् । रिक्त १९ सिटमध्ये राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि आगामी फागुन २० गतेदेखि पदावधि सकिने भएको हो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रकाशित कार्यतालिका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दलहरूले मंसिर २९ गतेसम्म दल दर्ता गरिसक्नु पर्नेछ । दलहरूले पुस २३ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

उम्मेदवारको विरोधमा उजुरी दिने मिति पुस २४ मा तोकिएको छ भने मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली २६ गते प्रकाशन हुने निर्वाचन आयोगको तालिकामा उल्लेख छ । उम्मेदवारले २७ गते नाम फिर्ता लिएपश्चात् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मतदान माघ ११ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *