दमौली । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ तनहुँका पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।
बिहीबार सम्पन्न निर्वाचनबाट तनहुँका पदमबहादुर परियारले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए ।
विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ । यो क्लष्टरमा भने मत क्रस भएको छैन ।
यस्तै एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।
एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।
गण्डकीमा स्थानीय तह र प्रदेशमा जितेका प्रतिनिधिहरुको अंकगणितअनुसार सत्ता गठबन्धनको ३ हजार ८२७ मतभार थियो । तर, सबै गठबन्धनका उम्मेदवारले कम मत प्राप्त गरेको देखिएको छ । २ सांसद रहेका राप्रपाबाट २ उम्मेदवार थिए । उसको पक्षमा २ जनाकै मतभार १०६ देखिएको छ ।