दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको गुनासो र प्रतिक्रिया ‘क्युआर कोड’बाट संकलन गर्ने भएको छ ।
यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न सुरु गरिएको हो ।
‘सेवाग्राहीको सन्तुष्टिको आधार थाहा पाउनदेखि सेवा प्रवाह सुधारको लागि राय सङ्कलन गर्न ‘क्युआर कोड’को उपयोग गरेर प्रश्नावली र खुला दुवै विधिबाट राय सङ्कलन गर्न सुरु गरेका छौँ,’ उनले भने, ‘कागजमा लेखेर गुनासो पेटिकामा प्रतिक्रिया दिन झन्झटिलो भएको पाइएसँगै मोबाइलबाट नै प्रतिक्रिया दिन सकिने प्रविधि प्रयोगमा ल्याएका छौँ ।’
क्युआर कोड स्क्यान गरेपश्चात् देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको सहायक प्रजिअ जित बहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउनेको सङ्ख्या धेरै हुन थालेसँगै प्रशासनले प्रविधिको उपयोगलाई प्रयोगमा ल्याएको हो ।
कार्यालयले दिने सेवा, त्यसको गुणस्तर, कर्मचारीको ब्यवहार, आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयलाई ‘क्युआर कोड’ स्क्यानपश्चात् आउने प्रश्नावलीबाट प्रतिक्रिया जनाउन सकिने उनले बताए ।
अनलाइन माध्यमबाट गरिने गुनासोकर्ताको विवरण गुनासो सम्बोधन अधिकारीबाहेकलाई थाहा नहुने गरेर गोप्य हुने प्रबन्ध मिलाइएकाले निर्धक्क भएर प्रतिक्रिया दिन प्रजिअ थापाले आग्रह गरे ।
हाल परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको प्रतिक्रिया सङ्कलन माध्यमलाई समयअनुसार संशोधन र प्राप्त प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई सुधार गर्दै जिल्लाभरका कार्यालयमा विस्तार गर्ने प्रशासनको योजना छ ।
निकट भविष्यमा मोबाइल एप बनाउने समेत योजना रहेको प्रजिअ थापाले शुक्रबार संचारकर्मी संगको भेटघाटमा जानकारी दिए ।
नागरिक वडा पत्र, कार्यालयको सेवा प्रवाह सम्बन्धी गुनासो दर्ता र उपभोक्ता हित विपरितको गुनासो दर्ता गर्न तीन वटा फरक-फरक क्युआर कोड प्रशासनले बनाएको छ ।