आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि अप्रेसन सेवा सुरु भएको छ ।
अस्पतालको स्वास्थ्य सेवा अन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, लगायतका अप्रेसन सेवा सुरु भएको अस्पतालले जनाएको छ । शनिबार अस्पतालमा ५९ वर्षका बिरामी माधव प्रसाद वाग्लेकाे हर्नियाको सफल अप्रेसन सँगै अप्रेशन सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी. क्षेत्रीले बताए ।
दमौली अस्पताल प्रमुख डा. परिवर्तन बराल, एनस्थेसिया सहायक कुशल भट्टराई, आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डी.बी. क्षेत्री, नर्स पूजा रावल, सीमा सापकोटा क्षेत्री, प्रयोगशाला प्रमुख अमृत पण्डित, ओ टि सहयोगी श्रावण बुढाथोकीको सहयोगमा वाग्लेकाे हर्नियाको सफल अप्रेसन गरिएको थियोे ।
दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भएपछि अप्रेसन सुरु गरिएक अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले जानकारी दिए ।
गण्डकी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सहयोगमा शल्यक्रिया कक्षका लागि आवश्यक बत्ती, शय्या र इलेक्ट्रोकाउट्री मेसिन प्राप्त भएको थियो । केहि समय अघि अस्पतालमा रक्तसञ्चार सेवा सुरु भएको थियो ।
लामो समयको प्रयासपश्चात अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । शल्यक्रियाका लागि जनशक्ति रहे पनि उपकरण अभावमा यसअघि सेवा सुरु हुन नसकेको चुमानले बताए ।
विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीमा स्तरोन्नती भएको यो स्वास्थ्य संस्थाले तनहुँको आँबुखैरेनी गाउँपालिकासँगै बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका, शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका बासिन्दालाई सेवा दिइरहेको छ ।
अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रवाह भइरहेको छ ।