दमौली । तनहुँ जिल्लामा आजदेखि टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा आजदेखि सुरु हुने प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र बाँकी टिममध्ये उत्कृष्ट रनरेट हासिल गर्ने एक टिमले सेमिफाइनलमा स्थान बनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब केशवटार, मन्दाकिनी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसीबी क्रिकेट एकेडेमी चितवन, पेलिकन्स क्रिकेट क्लब र दमौली रिभास क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमलाई ७५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ‘प्लेयर अफ द सिरिज’, ‘सर्वोत्कृष्ट ब्याट्सम्यान’, ‘सर्वोत्कृष्ट बलर’, ‘उदीयमान खेलाडी’ लगायतलाई पुरस्कार प्रदान गरिने तनहुँ जिल्ला क्रिकेट संघका अध्यक्ष मदन तिमल्सेनाले जानकारी दिए ।
तनहुँ जिल्ला क्रिकेट संघका अध्यक्ष तिमल्सेनाका अनुसार युवा प्रतिभालाई खेलमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ पनि घोषणा गरिने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी असार ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको पहिलो दिन आज इस्टर्न क्रिकेट एकेडेमी र प्रगतिशील क्रिकेट क्लब केशवटार तथा आरसीबी क्रिकेट एकेडेमी चितवन र दमौली रिभास क्लबबीच प्रतिस्पर्धा हुनेछ ।