तनहुँ । नेपाल मगर संघ व्यासनगर समितिले माघे सक्राटी मेला मनाउने भएको छ । संघले माघे सक्राटी २ दिन विविध सांस्कृतिक कार्यक्रम गरी मनाउने भएको छ ।

दमौलीको खुल्ला चौरमा पुस २९ गते र माघ १ गते माघे सक्राटी मेला तथा विविध सांस्कृतिक कार्यक्रमबारे हुने संघले जनाएको छ । मेलाको पहिलो दिन २९ गते मगर समुदायमा प्रचलित कौराहा नाँच, पाउँदुरे नाच(नचरी), झाभुरा नाच लगायतका मौलिक कला संस्कृतिलाई स्थान दिइने आयोजकले जनाएको छ ।

माघे सक्राटीको दिन बिहान जातिय भेषभूषा सहितको झाँकी तथा ¥याली हुनेछ भने औपचारिक कार्यक्रम सकिए लगत्तै बेलुका ५ बजेबाट १० बजेसम्म लाइभ कन्सर्ट हुने नेपाल मगर संघ व्यास नगर समितिकी अध्यक्ष रिमा आले मगरले जानकारी दिइन् ।

साथै मेलामा मगर समुदायमा प्रचलित खानाका विभिन्न परिकारको स्वाद समेत लिन पाइनेछ । संस्कार संस्कृतिको जर्गेनासँगै युवाहरुको मागलाई मध्यनजर गरि यस वर्ष माघे सक्राटी मेलामा लाइभ कन्सर्ट समावेश गरिएको मगर सांस्कृतिक संघ गण्डकी प्रदेशका अध्यक्ष एवम् गायक अनुराग थापा मगरले जानकारी दिए ।

कन्सर्टमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट ख्याति कमाएका टिकटकर/र्यापर पारस बम ठकुरी उर्फ ‘कुल ब्वाई’को प्रमुख प्रस्तुति रहने थापा मगरले जानकारी दिए ।

कन्सर्टमा एक जनाको ३ सय र २ जनाको ५ सय टिकट शुल्क तोकिएको आयोजकले जनाएको छ । साथै गायक सन्जिव सिंह राना, अनुराग थापा, गायिका मनु राना लगायतको स्थानीय व्याण्डको पनि सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मौलिकताको जर्गेनासँगै युवाहरुको भावना र चाहनाको कदर गर्दै माघे सक्राटी मेलामा केही नयाँपन प्रदान गरिएको नेपाल मगर संघ केन्द्रिय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए ।

नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष मनिराज थापाले माघे सक्राटी मगरहरुको मौलिकतासँग जोडिएको भएपनि सबैलाई केन्द्रित गरि कार्यक्रम आयोजना गरिएको बताए ।

दमौली बजारमा मसान्तको दिनै मेला लाग्ने चलन पहिला देखिकै भएपनि पछिल्लो समय त्यो संस्कार लोप हुदै गएको संघका सल्लाहकार यमबहादुर आलेले बताए । मगरहरुको लागि माघे सकराती ठुलो महत्वको पर्व भएकाले यसमा गाइने गीत र नृत्यको विशेष महत्व रहेको उनले बताए ।

मगर समुदायमा पुसको अन्तिम दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, गिठ्ठा, भ्याकुर, खिचडी पकाएर राख्ने र सोही परिवार सक्राटीको दिन खाने चलन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *