मनाङमा मर्स्याङ्दी करिडोरको १४ पालिकाको बैठक, हिमालको मुद्दा मुख्य एजेन्डा

Byखवरबाटिका

४ मंसिर २०८१, मंगलवार १८:४० ४ मंसिर २०८१, मंगलवार १८:४० ४ मंसिर २०८१, मंगलवार १८:४०

चामे । मनाङको चामे गाउँपालिकामा मर्स्याङ्दी करिडोर अन्तर्गतका पालिकाको अन्तरपालिका समन्वय बैठक मंगलबार सम्पन्न भएको छ ।

कोरिडोरको पाँचौँ बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य क्षेत्रको पहिचान गर्ने सम्बन्धमा शिक्षा, स्वास्थ्य, कृषि, वास्ट म्यानेजमेन्ट, पूर्वाधार र पर्यटन एवं पूर्वाधार र पर्यटन तथा एग्रो टुरिजमलाई सँगसँगै अघि बढाउन आवश्यक कार्य योजना तयार गर्ने निर्णय गरेको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रमुख कोइरालाका अनुसार समग्र मर्स्याङ्दी कोरिडोर क्षेत्रको समृद्धिका लागि सम्भावना र अवसरको बारेमा विचार विमर्श: गरी योजनाबद्ध विकासको खाका कोर्ने उद्देश्यले यस क्षेत्रका पूर्व प्रधानमन्त्री, संघीय सांसद, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका वर्तमान र पूर्वपदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सम्बद्ध क्षेत्रका विज्ञहरूको सहभागितामा एक बृहत् गोष्ठी मंसिर २९ गते शनिवार काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ ।

त्यस्तै बैठकले मर्स्याङ्दी करिडोरको कानुनी वैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, डुम्रे-बेँसीसहर-चामे सडक द्रुतगतिमा स्तरोन्नति गर्ने कार्य अगाडि बढाउनका लागि करिडोरका तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने, हाल विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तनका कारणले प्राकृतिक सम्पदाको रूपमा रहेका हिमाल पग्लिएर काला पहाडको रूपमा परिणत भइरहेको परिप्रेक्षकमा करिडोर क्षेत्रका विशेष हिमाली जिल्ला तथा अन्य क्षेत्रमा यसको अस्वाभाविक प्रभाव कम गराई मानवमैत्री वातावरण निर्माण गर्ने सम्बन्धमा सम्बद्ध निकायमा समाधानका लागि आवश्यक पहल गर्ने लगायतका निर्णय गरेको समन्वय समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

करिडोरभित्रका पालिका कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एक आपसमा बजारीकरण र साझेदारीका कार्यक्रम संयुक्त रूपमा अगाडि बढाउँदै लैजाने तथा आगामी माघको पहिलो हप्ता गोरखा नगरपालिकामा सातौँ बैठक बस्ने निर्णय गरिएको छ ।

मर्स्याङ्दी उपत्यकाभित्र पर्ने लमजुङको बेँसीसहर, सुन्दरबजार, राईनास, दोर्दी, मर्स्याङ्दी , तनहुँको भानु, आँबुखैरेनी तथा बन्दीपुर गाउँपालिका र मनाङको चामे, मनाङ-डिस्याङ तथा नासोँ गाउँपालिका, गोरखाको गोरखा र पालुङटार र सहिद लखन गाउँपालिका करिडोरमा रहेका छन् ।

बैठकमा करिडोर अन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *