अविरल वर्षाका कारण गएको पहिरोमा परी कास्कीमा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । कम्तीमा १ जना बेपत्ता रहेको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरोमा पर्दा सो घरमा सुतेका मध्ये ५ जनाको मृत्यु भएको छ । उनीहरुको शव संकलन भइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनराम श्रेष्ठले बताए ।
सो घटनामा अन्य ८ जना घाइते छन् । उनीहरुको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेकाे उनले बताए । बिहीबार थापाको घरमा जन्मदिन मनाइएकाेले घरमा १३ जना जम्मा भएका थिए । राति उनीहरु सबै सुतको बेलामा घरमाथिबाट पहिरो खसेको स्थानीय बासिन्दाले जानकारी दिए ।।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै पोखरा महानगर पालिकाको वडा नम्बर २६ मा पनि एउटा घर पहिरोले पुरेको खबर प्राप्त भएको छ । उक्त घरमा एक जना पुरिएको भन्ने खबर आएको एसपी श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र पहिरो जाने क्रम जारी रहेकाले खोजी कार्य प्रभावित भएको बताएका छन् ।
त्यस्तै पोखरा–१७ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।
उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।