परियोजना सन्चालित स्थानीय तहको अनुगमन सम्पन्न

Byखवरबाटिका

१८ असार २०७८, शुक्रबार १८:०२ १८ असार २०७८, शुक्रबार १८:०२ १८ असार २०७८, शुक्रबार १८:०२

दमाैली – इन्सेकद्वारा भानु नगरपालिकामा सन्चालित परियोजनाको प्रभावका विषयमा शुक्रबार अनुगमन गरिएको छ । स्थानीय तहमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, स्थानीय नीति तथा कार्यक्रम, सेवा प्रवाहको अवस्थाका तथा स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालको बारेमा जानकारी लिन सो अनुगमन गरिएको हो ।
सो कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले मानवअधिकार र मौलिक अधिकार सबै नागरिकको सरोकारको विषय भएको हुँदा आफुहरुले नीति तथा कार्यक्रम बनाउँदा पनि मानवअधिकार र मौलिक हकलाई सँधै प्राथमिकतामा राखिएको बताए । इन्सेकले भानु नगरपालिकामा सन्चालन गरेको परियोजनाको कारण नागरिकहरु मानवअधिकार र मौलिक अधिकारको बारेमा सचेत बन्न सकेको बताए ।
नगरपालिकाकी उपप्रमुख आशा थापा मगरले नगरपालिकाले पहिचान गर्न नसकेका सवाललाई मानवअधिकार समुहले पहिचान गरेर कार्यान्वयनमा सहयोग गरेको बताईन् । उनले मानवअधिकार समुहले ध्यानाकर्षण गराएकै कारण स्वास्थ्य क्षेत्रमा भईरहेको समस्या तत्काल समाधान गर्न सहयोग पुगेको बताईन् ।
प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले मानवअधिकार समुहले पेश गरेको मागपत्र तथा र ध्यानाकर्षण पत्रलाई अध्ययन गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । यद्यपी अधिले नीति तथा कार्यक्रम र बजेट पेश नभएपनि जुन दिन पेश हुन्छ, त्यो बेला यी विषयहरु सम्बोधन हुने उनको भनाई थियो ।
नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले मानवअधिकार समुहले स्थानीय स्तरमा भएका समस्यालाई नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराएको बताए । उनले संघीय सरकारको अनुदान बिना अहिले नगरपालिकामा २ वटा नगरस्तरीय अस्पताल सन्चालन गरिएको जानकारी दिए । ८४ वर्ष उमेर माथिका नागरिकलाई प्रत्येक महिना उहाँहरुकै घरमा पुगेर स्वास्थ्य परिक्षण गरिएको, १७ बेडको कोभिड अस्पताल निर्माण गरिएको, दुध, मासु र अन्डामा आत्मनिर्भर भएको र मानवअधिकार समुहको ध्यानाकर्षण पछि कृषि यन्त्रको खरिदमा कृषकलाई नै मुल्य निर्धारणको अधिकार दिईएको पाण्डेले जानकारी दिए ।
सो कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाँईले मानवअधिकार र मौलिक हकको सवाललाई स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने बताए । न्यायीक समितिलाई पनि अझ प्रभावकारी बनाउनु पर्ने उनको भनाई थियो ।
इन्सेक प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले सन्चालित परियोजनाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायमा सहयोग गर्ने र स्थानीय स्तरका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय सम्बोधन गर्न सहयोग पुग्ने बताए ।
सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशका शाखा अधिकृत युवराज अर्याल र नेपाल पत्रकार महासंघ तनहँुका अध्यक्ष उज्वल पौडेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई संविधानले मौलिक हकमा समावेश गरिसके पछि त्यसको कार्यान्वयन गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।
मानवअधिकार समुहकी सदस्य सिता अधिकारीले स्थानीय स्तरमा भएका समस्यालाई नगरपालिकामा पटक पटक ध्यानाकर्षण गराईएको बताईन् ।
सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु नगरपालिकामा सन्चालित परियोजनाको बारेमा जानकारी गराएका थिए ।

कोभिड व्यवस्थापन र स्वास्थ्य उपचारको अवस्थाको बारेमा छलफल सम्पन्न
राष्ट्रिय मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालय तथा पत्रकार महासंघ तनहँुको तनहँु जिल्लामा कोभिड व्यवस्थापन, निषेधाज्ञाको अवस्था, प्राकृतिक प्रकोपको क्षतीको अवस्था, पुर्वतयारी, बजार अनुगमन र स्वास्थ्य उपचारको अवस्थाको बारेमा निमित्त प्रमुख जिल्ला अधिकारी र दमौली अस्पतालका प्रमुखसँग छलफल गरेको छ ।
मानवअधिकार आयोग, मन्त्रालय र इन्सेकको संयुक्त टोलीले असार १९ गते निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङद बराल र दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शुनिल पौड्यालसँग भेट गरि छलफल गरेको हो । सो अवसरमा निमित्त प्रजिअ बरालले तनहँुमा अहिले कोभिडका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढि भएको, स्वाव परिक्षण र एन्टिजेन परिक्षणलाई प्राथमिकता दिन स्थानीय तहलाई अनुरोध गरिएको बताए ।
आगामी असार २४ गतेसम्म तनहँुमा निषेधाज्ञा लगाईएको र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिईएको बताउनु भयो । विशेषगरि व्यवसायीले स्वास्थ्य मापदण्ड पालना नगरेको पाईए कानुन अनुसार कारवाही गरिने उनको भनाई थियो । नीजि अस्पतालले स्वाव संकलन गरि पिसिआर परिक्षणको क्रममा निर्धारित मुल्य भन्दा महंगो शुल्क लिने गरेको र नीजि अस्पतालमा स्वाव परिक्षण गर्ने तालिम प्राप्त स्वास्थ्यकर्मी समेत नभएको हुँदा नीजि अस्पताललाई स्वाव संकलन र परिक्षण गर्न रोक लगाईएको बताए ।
पछिल्लो दिनमा प्राकृतिक प्रकोपको कारण २ जनाको मृत्यु भएको र ८ जना घाईते भएको सहायक प्रजिअ बरालले जानकारी दिए । धेरै ग्रामिण सडकहरु क्षत विक्षत भएको भन्दै अवको प्राथमिकता पुननिर्माणमा हुनु पर्ने उनको भनाई थियो ।
दमौली अस्पतालका प्रमुख डा. पौड्यालले दमौली अस्पतालमा आईसियु प्रविधिबाट उपचार सुरु गरिएको बताए । अहिले अस्पतालमा आईसियुमा ३ गरि १० जना कोभिड संक्रमितको उपचार भईरहेको जानकारी दिए । हालसम्म दमौली अस्पतालमा १ सय ८० जना कोभिडका विरामीको उपचार भएकोमा १ जनाको मृत्यु भएको डा. पौड्यालले जानकारी दिए । भौतिक पुर्वाधारको अभावकै विचमा पनि कोभिडका विरामी तथा कोभिड बाहेकका बिरामीको उपचार, सुत्केरी सेवा र मृगौला डायलासिस सेवा निरन्तर सन्चालन गरिएको उनले बताए ।
सो अनुगमनमा राष्ट्रिय मानवअधिकार आयोग गन्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाई, इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेल, सामाजिक विकास मन्त्रालय गन्डकी प्रदेशका शाखा अधिकृत युवराज अर्याल, इन्सेककी कार्यक्रम संयोजक सवनम शर्मा, इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, पत्रकार महासंघ तनहँुका अध्यक्ष उज्वल पौडेल, कास्कीका पत्रकारहरु श्याम कुँवर र प्रतिक्षा काफ्लेको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *