दुलेगौंडा । पृथ्वीराजमार्गमा उडेको धुलोले आजित बनाएको भन्दै शुक्लागण्डकी नगरपालिका वडा नं. २ का बासिन्दा सडक आन्दोलनमा उत्रिएका छन् ।
तत्काल सडक मर्मत गर्न माग गर्दै शनिबार आधा घण्टा पृथ्वी राजमार्ग चक्काजाम गरिएको सडक संघर्ष समितिका संयोजक ठाकुर खनालले बताए ।
धुलो नियन्त्रण नभईन्जेल दैनिक १५ मिनेट थप गर्दै चक्काजाम गर्ने खनालले जानकारी दिए । पटक पटक वडा, नगरपालिका, सडक विभाग र राजमार्ग विस्तार आयोजना कार्यालयलाई सडक मर्मत गरि धुलो नउड्ने वातावरण तयार पार्न माग गरेपनि सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए ।
पृथ्वीराजमार्गको दुलेगौंडा कोत्रे खण्डको कालोपत्रे भत्किएको छ । सडकमा सयौं खाल्डाखुल्डी छन् ।
दैनिक १४ सय बढि सवारी साधन चल्ने राजमार्गमा उड्ने धुलोले स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीय बासिन्दा बताउँछन् ।
धुलोले व्यवसाय चलाउन, गाईभैसी पाल्न र खेतीपाती गर्न समेत मुस्किल परेको स्थानीय सृजना खनालले बताईन् ।
धुलोले स्कुटर र मोटरसाईकलका यात्रुलाई आँखा देख्न मुस्किल हुदाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।
वर्षा भएपछि सडकमा रहेका खाल्डामा जम्ने पानी र सडकको हिलोले पैदल यात्रु र २ पाङ्ग्रे सवारीका यात्रु लाई आवतजावत गर्न कष्ट भएको छ ।
हाल पृथ्वीराजमार्ग विस्तारको काम शुरु भैसकेको छ। एडीबीको अनुदान सहयोगमा राजमार्गलाई ४ देखि ६ लेनको बनाउन काम शुरु भईसकेपनि जिर्ण सडकको २ वर्ष यता मर्मत नहुदाँ स्थानीय र यात्रु हैरान बनेका छन् ।
सडक विस्तार आयोजनाले धुलो नियन्त्रणका लागि दैनिक पानी छर्कने गरेको बताएपनि स्थानीयले नियमित नभएको र झारा टार्ने मात्रै काम भएको गुनासो गरेका छन् । आयोजनाले खाल्डा पुर्न माटो हाल्ने गरेकोले धुलो र दुर्घटनाको जोखिम झनै बढ्दै गएको भन्दै आक्रोशित स्थानीयले तत्काल गुणस्तरीय सामाग्री प्रयोग गरेर सडक मर्मत गर्न अनुरोध गरेका छन् ।