तनहुँ । तनहुँमा एक महिनामा ४ हजार ८८६ मतदाताले नामावली दर्ता गराएका छन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको क्रममा नयाँ संगै अन्य (बिग्रेको नाम, ठेगाना सच्चाउने) मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले गत असार १ गतेदेखि मतदाता नामावली संकलन सुरु गरेको थियो । जिल्लाका दुई स्थानमा मतदाता नामावली संकलन कार्य भइरहेको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँमा तीन वटा केन्द्र र जिल्ला प्रशासन कार्यालयको एउट केन्द्रबाट नामावली दर्ता भइरहेको प्रमुख ढकालले जानकारी दिए । निर्वाचन कार्यालयमा बाहिरी जिल्लाको नाम दर्ता समेत भईरहेको उनले जानकारी दिए ।
निर्वाचन कार्यालयका तीन केन्द्रबाट २ हजार ५६२ जना र जिल्ला प्रशासन कार्यालयबाट २ हजार २१६ जनाले नामावली दर्ता गराएका छन् । यस्तै त्यस बाहेक १०८ जना बाहिरी जिल्लाको रहेका छन ।
तनहुँको कुल ४ हजार ७७८ जना र १०८ जना बाहिरी जिल्लाको रहेको प्रमुख ढकालले जानकारी दिए । जिल्लाको २ हजार ४७९ पुरुष र २ हजार २९९ महिला जिल्लाको रहेकोे ढकालले बताए ।
जिल्ला निर्वाचन कार्यालयबाट बाह्य जिल्लाका १०८ जना जसमा ६९ पुरुष र ३९ जना महिलाको नाम दर्ता गरिएको उनले बताए ।
जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन २०७९ मा तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता रहेका थिए । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका थिए ।
स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन कार्यमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले असार १ गतेदेखि सुरु गरेको नामावली सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम गत असार १ गतेबाट पुनः सुरु भएको हो ।
यो सङ्ख्या स्थानीय तहको निर्वाचनअघि २ सय हाराहारी रहेको थियो । उनले भने, “अहिले ३ सयको दैनिक नाम दर्ता भइरहेका छन् ।” उनका अनुसार जिल्लामा अहिले दुई स्थानका चार केन्द्रबाट नामावली सङ्कलन भइरहेको छ ।
स्थानीय निकायको निर्वाचनका क्रममा उमेर पुगेर समेत मतदान गर्न नपाएका बढी सङ्ख्यामा नामावली दर्ता गर्न आएको प्रमुख ढकालले बताए ।
नामावली दर्ताका लागि नागरिकताको सक्कल प्रमाणपत्र, बसाइसराइ भए बसाइसराइको कागजपत्र र विवाह भएर आएको भए विवाह दर्ता आवश्यक पर्ने उनले जानकारी दिए ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।
आफ्नो नाम, थर, लिङ्ग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।