तनहुँ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ जिल्लाबाट २ लाख ४९ हजार २९३ जनाले मतदान गर्ने भएका छन् ।

जसमध्ये १ लाख १९ हजार ८३३ जना पुरुष रहेका छन् भने १ लाख २९ हजार ४६० महिलाले मतदान गर्न पाउने भएका छन् ।

तर उक्त संख्या घट्न सक्ने जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा २ वटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं.–१ मा १ लाख २३ हजार ६५२ जना मतदाता संख्या रहेको छ भने क्षेत्र नं.–२ मा १ लाख २५ हजार ६४१ जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन अधिकृत हरि प्रसाद ढकालले जानकारी दिए ।

गत २०७४ को आम निर्वाचनमा २ लाख ११ हजार ३९६ मतदाता रहेका थिए ।

गत निर्वाचन भन्दा यसपाली ३७ हजार ८९७ बढी मतदाता बढेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत स्थानीय तह निर्वाचन वैशाख ३० मा २४ हजार ४ हजार ३४० मतदाता रहेका थिए ।

यस्तै यही भदौ १२ गते निर्वाचन कार्यालयले मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

उक्त कार्यतालिका अनुसार मतदाता नामावलीमा कसैले झूटा विवरण दिएर नामावलीमा नाम सिफारिस गरेको खण्डमा उजुरी दिनसक्ने मिति १३–१५ गतेसम्मका लागि तोकिएको छ । उजुरी परेको खण्डमा मतदातालाई प्रमाणसहित सफाइका लागि १३–१७ गते सम्मका लागि तोकिएको उनले बताए ।

ढकालले भने, ‘मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि १३–१६ गतेको समयावधि तोकिएको छ ।
मतदानको हकमा जाँचबुझ गरि मृत्यु भएका मतदाताको प्रमुख नाम दर्ता अधिकारीले नामावलीबाट नाम हटाउने समयावधि १३–१७ गते तोकिएको छ ।’

निर्वाचनका लागि मतदाता चुस्तदुरुस्त हुनुपर्ने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।
उनले थपे ‘हटाउन पर्ने मतदाता नहटाइएमा यथार्थ तथ्यांक आउन गाह्रो हुन्छ ।’

निर्वाचन सभ्य र धाधली रहित बनाउने सबैको सहयोग आवश्यक रहेको जिल्ला समन्वय समिती तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए ।

मृत्यु भएको व्यक्तिको नाम मतदाता नामावलीमा हुँदा निर्वाचनमा असर पर्न सक्ने निर्वाचन कार्यालयए जनाएको छ ।

मंसिर ३ गते १८ वर्ष पुग्ने मतदाताले मतदान गर्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाताको विवरण एवं त्रुटीहरु हटाउने, निर्वाचनको लागी अद्यावधिक मतदाता नामावली तयार गर्ने र एकै वडा भित्र रहेका मतदान स्थलहरु मध्य अपाएक मतदान स्थल भएमा मतदान स्थल सार्ने उद्देश्य रहेको कार्यालयले जनाएको छ ।

स्थानीय तहका पञ्जिकाधिकारीको सिफारिसमा मृत्यु भएका मतदाताहरुको विवरण हटाउने समेत उद्देश्य रहेको छ ।

तनहुँमा मतदान स्थल १३६ वटा कायम रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *