तनहुँ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा तनहुँमा ३ महिला सहित ४१ जना उम्मेदवारको जमानत (धरौटी रकम) जफत भएको छ ।
प्रतिनिधि सभा सदस्यतर्फ २० जना र प्रदेश सभा सदस्यतर्फ २१ जनाको जमानत जफत भएको हो । जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ २५ जना र प्रदेश सभा सदस्यतर्फ ३२ जना गरी कुल ५७ जना उम्मेदवार बनेका थिए ।
जमानत जोगाउन उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कूल सदर मतको कम्तिमा पनि १० प्रतिशत पाउनुपर्ने कानूनी प्रावधान छ । १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुन्छ ।
तनहुँका दुई वटै क्षेत्रमा गरी प्रतिनिधिसभा सदस्य तर्फ २५ जना उम्मेदवार रहेकोमा २० जना र चार वटा प्रदेशसभा सदस्यतर्फ ३२ जना उम्मेदवार रहेकोमा २१ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ तनहुँ क्षेत्र नम्बर १ बाट १५ जनाले उम्मेदवारी दिएकोमा १२ जना, क्षेत्र नम्बर २ बाट १० जनाले उम्मेदवारी दिएकोमा ८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी प्रदेशसभातर्फ तनहुँ १ (१) बाट ११ जनाले उम्मेदवारी दिएकोमा ८ जनाको, १ को(२)बाट ७ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको जमानत जफत भएको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ को (१) मा ८ जनाले उम्मेदवारी दिएकोमा ५ जना, २ को २ मा ६ जनाले उम्मेदवारी दिएकोमा ४ जनाको धरौटी जफत भएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसंख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो ।
तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा ६६ हजार ७१७ मत खसेको मत थियो जसमा ६२ हजार ६९५ मत कुल सदर भएको थियो भने ४ हजार २२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६७ हजार ८१७ मत खसेको मत थियो जसमा ६४ हजार २३६ मत कुल सदर भएको थियो भने ३ हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ६७ हजार १४४ मतदाता रहेकोमा ३६ हजार ९१ मत खसेको मत थियो जसमा ३४ हजार ५२९ मत कुल सदर भएको थियो भने १ हजार ५६२ मत बदर भएको छ भने क्षेत्र नं १ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा ५६ हजार ३४६ मतदाता रहेकोमा ३० हजार २८४ मत खसेको मत थियो जसमा २८ हजार ९७३ मत कुल सदर भएको थियो भने १ हजार ३११ मत बदर भएको छ ।
यसैगरी तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा ६७ हजार ३२ मतदाता रहेकोमा ३७ हजार ८२९ मत खसेको मत थियो जसमा ३६ हजार १९७ मत कुल सदर भएको थियो भने १ हजार ६३२ मत बदर भएको छ भने क्षेत्र नं २ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा ५७ हजार ९७३ मतदाता रहेकोमा २९ हजार ९३० मत खसेको मत थियो जसमा २८ हजार ९१७ मत कुल सदर भएको थियो भने १ हजार १३ मत बदर भएको छ ।