तनहुँ । तनहुँमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा ४ सय ३५ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय तनहुँको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन, सेवामुलुक र उत्पादनमुलक साना उद्योग धेरै छन् ।
जसमा उत्पादनमुलक उद्योग ३४, कृषि तथा वन पैदावरमा आधारित उद्योग २ सय ६७, पुर्वाधार उद्योग १, पर्यटन उद्योग ७०, सूचना प्रविधिमा आधारित उद्योग १, सेवामूलक उद्योग ६२ वटा रहेका छन ।
तनहुँ कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख अविनाश कुवरले बताए । “यहाँ कृषि, पर्यटन र उत्पादनमूलक उद्योग दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनुकूल भएर हुनसक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारणसमेत आकर्षण भएको हुनसक्छ”, उनले भने।
वाणिज्यतर्फ भने तनहुँमा २ सय ९२ वटा नयाँ व्यवसाय थप भएका छन् । छ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालयका वाणिज्य शाखाका रवि अधिकारीले बताए ।
जसमा प्राइभेट फर्म २ सय ९० र साझेदारी फर्म २ वटा रहेका छन ।
तनहुँमा उद्योग तथा वाणिज्यको कुल सङ्ख्या ७ सय २७ पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको सङ्ख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य तनहुँमा रहेका पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख अविनाश कुवरले जानकारी दिए ।
जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ । त्यसको तुलनामा ग्रामीण क्षेत्रमा भने कम मात्रामा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको कार्यालयले जनाएको छ ।
जिल्लाको सदरमुकाम दमौलीसहित डुम्रे, दुलेगौडा र भिमाद, आँबुखैरेनीमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ । यस्तोमा जिल्लाको घिरिङ गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम रहेको कार्यालयले जनाएको छ ।
यसैबीच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु ३९ लाख २४ हजार ५७५ राजस्व सङ्कलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु २१ लाख ५६ हजार ४२५ र वाणिज्य दर्ताबाट रु १७ लाख ७१ हजार ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कुवरले बताए ।