म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर शुरु भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।
शिविरको पहिलो दिन २०५ जनाको आँखाको परिक्षण गरिएको छ भने जसमा महिला १२६ जना र पुरुष ७९ जना रहेका छन् । उपचारको क्रममा ३ जनाको जलविन्दु र १५ जनाको मोतिविन्दु भएको पाईएको गाउँपालिकाले जनाएको छ ।
उनिहरुलाई थप स्वास्थ्य उपचारका लागी हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए । जलविन्दु र मोतिविन्दु भएको विरामीको निशुल्क आँखाको उपचार हुने हिमालय आँखा अस्पतालले जनाएको छ ।
यसैगरि शिविरमा २०५ जनालाई विभिन्न आँखा सम्वन्धि औषधी समेत वितरण गरिएको छ भने १२५ जना आँखाको विरामीलाई चस्मा वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
सोही अवसरमा प्रहिलो चरणको कोभिड खोप ६ जनालाई र दोश्रो चरणको खोप १२० जनालाई लगाईएको छ । शिविरमामा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिने पालिकाले जनाएको छ ।
कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको स्वास्थ्यमा अति नै संवेदनशिल रहेको बताए । जनता नै सर्वोपरि भएको हुदाँ जनताको स्वास्थ्य जस्तो विषयमा पालिकाले सदैव भुमिका खेल्ने हुदाँ आवश्यकताका आधारमा थप कार्यक्रम ल्याईने उनले बताए । यस भन्दा अगाडी पालिकाले एकीकृत घुम्ति शिविर संचालन गरेर जनतालाई सेवा दिईसकेको छ । त्यसक्रममा पाठेघरको मुखको क्यान्सर देखिएको विरामीलाई उपचारको लागी छिट्टै व्यवस्था समेत गरिने अध्यक्ष श्रेष्ठले बताए ।
सो क्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको सवैभन्दा महत्वपुर्ण आँखाको उपचार र स्याहारमा ध्यान दिनुपर्ने बताए । ‘आँखाको ज्योति जीवन हो ।’ उनले भने ‘यसको उपचारमा पालिका गम्भिर छ ।’
यसैगरि पालिकाले यसपछि दाँतको निशुल्क उपचार गर्न लागेको समेत उपाध्यक्ष घिमिरेले बताए । सो कार्यक्रममा पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, हिमालय आँखा अस्पताल, सुर्य नेपाल प्रा.लि, तनहुँ हाईड्रो पावरका प्रमुखहरुले सम्वोधन गरेका थिए ।
१४ गते बाट शुरु भएको कार्यक्रम १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुने गाँउपालिकाले जनाएको छ ।