तनहुँ । तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ गरेका छन् । यसका लागि यहाँका स्थानीय तहले सुझाव सङ्कलनलाई तीव्र बनाइरहेका छन् ।
आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, सङ्घसंस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, पेसाकर्मी कर्मचारी र आम नागरिकबाट राय सुझाव माग गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र यसैको तयारीस्वरुप सुझाव सल्लाह सङ्कलन गरिन लागिएको हो । सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने जनाएको छ ।
म्याग्दे गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सुझाव पेस गर्न आग्रह गरेको छ । उक्त सूचनामा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्य अनुसार गाउँपालिकाका सम्पूर्ण सरोकारवालाहरुलाई आफ्नो अमूल्य सुझाव जेष्ठ २३ गते भित्र संम्बन्धित वडा कार्यालय, गाउँपालिकाको इमेल ठेगानामा वा गाउँ कार्यपालिकाको कार्यालयमा स्वयंम उपस्थित भई पेश गर्नु अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए ।
त्यस्तै भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को वार्षिक नीति तथा कार्यक्रम र वजेट तर्जुमाको चरणमा रहे भन्दै सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था/कार्यालय/निकाय/प्रतिष्ठान लगायत सरोकारवालाहरु मध्ये कुनै संस्थाले नगरपालिकाको वजेट साझेदारीमा आगामी आर्थिक वर्षमा योजना तथा कार्यक्रम संचालन गर्न इच्छुक भएमा निवेदन दर्ता गराउन अनुरोध गरेको छ ।
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुमा समेत सरोकारवालाहरु सवैले आ-आफ्नो तर्फवाट रचनात्मक सुझावहरु लिखितरुपमा उपलब्ध गराउन समेत नगरपालिकाले सूचना जारी गरेको छ ।
जिल्लाका अन्य स्थानीय तहहरुले पनि आगामी आवको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव सङ्कलन गरिरहेका छन् । राय सुझावकै आधारमा आगामी वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याइने स्थानीय तहले जनाएका छन् ।