गत मंगलबारदेखि नै दलहरु चुनावी रणनीति बनाउन जिल्ला तथा वडा कमिटीहरुको बैठक र छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले केन्द्रीय नेता गगन थापा, शंकर भण्डारी लगाएतको उपस्थितिमा बैठक तथा छलफललाई अघि बढाएको छ ।
यस्तै एमालेले स्थायी कमिटि सदस्य किरण गुरुङ, केन्द्रिय सदस्य भगवती न्यौपाने लगाएतलाई तनहुँमै केन्द्रित गरेको छ । रास्वपाका चुनावी संयोजक सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, पुकार बम लगाएतले चुनावी गतिविधि अघि बढाइरहेका छन् ।
कांग्रेसले अर्का महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी, प्रदिप पौडेल, माओवादी नेता हरि बहादुर चुमानलाई पनि चुनावी अभियानमा तनहुँ ल्याएर आम नागरिकहरुसँग साक्षात्कार गराउने भएको छ । कांग्रेसले चुनावी अभियानमा शीर्ष नेताहरुलाई सहभागी गराउने रणनीति बनाएको छ भने एमालेले सचिव पद्मा अर्याल, किरण गुरुङ, भगवती न्यौपाने लगायतलाई मैदानमा खटाएको छ ।
रास्वपाले भने आफ्ना चर्चित सांसद तोसिमा कार्की, सोबिता गौतम, शिशिर खनाल, बिराजभक्त श्रेष्ठ,अशिम शाह र नेताहरु रमेश प्रसाई, सन्तोष परियारलाई तनहुँ उतार्ने र आम नागरिकको मत जम्मा गर्ने योजना बनाएको छ ।
निर्वाचनलाई मध्यनजर गर्दै ती दलहरुले निर्वाचन परिचालन कमिटीसमेत निर्माण गरिसकेका छन् । कांग्रेसले केन्द्रिय सदस्य शंकर भण्डारीलाई, एमालेले स्थायी कमिटि सदस्य किरण गुरुङ र रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई हाइकमाण्डको संयोजक बनाएको छ ।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार निर्वाचनका लागि पार्टीले आन्तरिक तयारी संगै बाह्य प्रचारप्रसारलाई तीब्र बनाएको छ । कांग्रेसले निर्वाचन परिचालनको लागि सम्पर्क कार्यालय स्थापना तथा पार्टीका नेता र कार्यकर्ता भेटघाटलाई तीब्रता दिएको उनले बताए ।
‘निर्वाचनलाई लक्षित गरेर जिल्लाको डुम्रेमा क्षेत्रीय प्रचार कार्यालय पनि स्थापना गरिसकेका छौं,’ उनले भने, ‘पालिका अनुसार वडा स्तर मै कोण सभा र घरदैलो गर्ने कार्यक्रम छ ।’
कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दो रहेको दाबी गर्दै उनले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । ‘उम्मेदवार स्वयं आम मतदातासँग जोडिएर अघि बढिरहनु भएको छ । पार्टीले निर्वाचनको लागि आफ्नो विचार र दृष्टिकोण दिइसकेको छ । निर्वाचन क्षेत्रको भौतिक तथा आर्थिक विकासका एजेण्डा निर्माणमा उम्मेदवार स्वयं सक्रिय रहनु भएको छ,’ उनले भने । कांग्रेसका उम्मेदवारले यो निर्वाचनलाई परिणाममुखी बनाएर ४ वर्षका लागि आम नागरिकहरुसँग गरेका प्रतिवद्धता पूरा गर्न सफल हुने उनले प्रस्ट पारे ।
उनले भने, ‘निर्वाचनपछि कांग्रेसले तनहुँ-१ को आर्थिक पूर्वाधारको खाका निर्माण गर्न सक्छ भन्ने विश्वास छ ।’ कांग्रेसले वडा तहसम्मको कमिटीहरुलाई निर्वाचनमा परिचालन गर्ने र गठबन्धनमा रहेका दलहरुको तल्लो तहको कमिटीलाई पनि सहभागी गराएर अघि बढ्ने योजना निर्माण गरेको सचिव खनालले बताए ।
गठबन्धन दलहरुलाई एकै स्थानमा जोड्न सबै दलको तल्लो तहलाई पनि परिचालन गर्ने तयारी अनुरुप दलहरुको तल्लो तहको निकायहरुमा संयन्त्र निर्माण गरिएको उनको भनाइ छ ।
कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई वृहत् मात्रामा प्रयोग गरी निर्वाचनमा खटाइने उनले बताए । आम नागरिकलाई अहिलको परिस्थिति र उपनिर्वाचन गर्नुपरेको कारणबारे कांग्रेसले सुसूचित गराएर आफ्ना निर्वाचन लक्षित कार्यक्रम अघि बढाउने उनले बताए ।
सचिव खनालका अनुसार कांग्रेसभित्रको अन्तरविरोधहरुलाई समाधान गरेर आगामी निर्वाचनमा एकमत भइ अघि बढ्ने रणनीति निर्माण गरिएको छ । कांग्रेसले विगतमा देखिएका समस्या समाधान गरिसकेको उनको भनाइ छ ।
रास्वपाका सहमहामन्त्री एवम् निर्वाचन परिचालन कमिटीका संयोजक कविन्द्र बुर्लाकोटीले पार्टीसँगको समन्वयमा निर्वाचनका कार्यक्रमहरु क्रमशः अघि बढाउने बताए । तत्काल निर्वाचन केन्द्रित भएर जिल्ला र वडास्तरमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटको कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
‘निर्वाचनका लागि केन्द्रबाटै केन्द्रीय निर्वाचन परिचालन समिति निर्माण भएको छ । तनहुँ-१ को निर्वाचन परिचालनको संयोजन मैले गरेको छु । उक्त कमिटीले पार्टीमा समन्वय गरेर अघि बढिरहेको छ,’ उनले भने ।
रास्वपाले स्थानीय पार्टी कमिटी र नेताहरुसँगको भेटघाट र छलफल गरिरहेको जानकारी दिँदै उनले अहिले घरदैलोभन्दा पनि स्थानीय नागरिक, शुभचिन्तकहरुसँग छलफल र भेटघाटको कार्यक्रम संचालन गरिरहेको बताए ।
‘उम्मेदवारको टोलीसहित निर्वाचनको अवस्थाहरुको अध्ययन र निर्वाचन रणनीति निर्माणमा सक्रिय छौं ।’ उनले भने । निर्वाचनका लागि बुथमा बस्ने प्रतिनिधिहरु छनोटको काम पनि भइरहेको र अब छिट्टै वडा र पालिका लक्षित कोण सभाको कार्यक्रम गर्ने तयारी भएको उनको भनाइ छ ।
‘निर्वाचन क्षेत्रको सबै पालिकाको वडास्तरमा संगठनहरु निर्माण लगायतको काम भइरहेको छ,’ उनले भने, ‘पार्टीले छिट्टै निर्वाचन क्षेत्रको ५ वटै पालिकामा पार्टी सदस्यहरुसँग छलफल र निर्वाचन परिचालनका लागि प्रशिक्षणको कार्यक्रम हुन्छ । हामी सभ्य रुपमा विगतको निर्वाचनमा जस्तै चुनावी सभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नेछौं ।’
एमाले तनहुँका सचिव राजेश्वर ढकालका अनुसार हाल निर्वाचन परिचालन अन्तर्गत विभिन्न योजना निर्माणमा एमाले तीब्र रुपमा अघि बढेको उनले बताए ।
‘एमाले अहिले निर्वाचनको परिचालनको काममा केन्द्रित छ । मतदाता भेटघाटलाई तीब्रता दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार तोकिएको समय अवधिमा हामी घरदैलो कार्यक्रम संचालन गर्छौं,’ उनले भने, ‘अहिले निर्वाचन प्रचारप्रसारमा गाउँगाउँमा पुगिरहेका छौं।’ सचिव ढकाल भन्छन ‘बन्दीपुर गाउँपालिकामा सभा र विभिन्न कार्यक्रम गर्यौं अब आँबुखैरेनी गाउँपालिकामा गर्छौं ।’
पार्टीको जिल्लादेखि टोल कमिटीसम्म निर्वाचन परिचालन कमिटी बनाएर अघि बढेको उनको भनाइ छ । ‘पार्टीले जिम्मेवारी तोके बमोजिम उहाँहरुको उपस्थिति, क्रियाशीलतामा सक्रिय ढंगबाट अघि बढिरहेका छौं,’ उनले भने, ‘पार्टी संगठनलाई सही ढंगबाट प्रयोग गर्न रणनीति निर्माण गर्दै जिम्मेवारी तोक्ने लगायतका काम भइरहेको छ ।’
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली आगामी वैशाख ५ वा ६ गते तनहुँ आउने कार्यक्रम रहेको सचिव ढकालले जानकारी दिए ।
तनहुँमा को–को छन् उम्मेदवार ?’
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन् । यस्तै नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेद्वार छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवार रहेका छन् । कुल ९ दलको उम्मेदवार रहेका छन् ।
गत मंसिरको निर्वाचनमा नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । यस्तै एमालेका उम्मेदवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत ल्याउँदा समानुपातिकतर्फ १२ हजार ७ सय ७३ मत ल्याएको थियो ।
तनहुँ १ मा आँबुखैरेनी, देवघाट र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन् ।
वैशाख १० गते हुने उपनिर्वाचन हुने तनहुँ १ का १ लाख २३ हजार ३०५ जनाले मतदान गर्न पाउने भएका छन् । तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएको छ ।