काठमाडौं । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीच भएको सम्वाद विना निष्कर्ष टुंगिएको छ ।
जोशीका छोरा दीपक कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका थिए ।
वैशाख १० गते तनहुँ–१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्णायक शक्तिका रुपमा रहेको जोशी समूहलाई फकाउन कांग्रेस नेतृत्व क्रियाशील रहेको छ ।
जोशीलाई कांग्रेसमा सम्मानजनक स्थान हुनुपर्ने र तनहुँको कमिटीमा आफ्नो समूहलाई ३३ प्रतिशत उपस्थिति गराउनुपर्नेमा जोशीको माग थियो ।
‘०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ, बुबा पनि तेस्रो स्थानमा हुनुहुन्थ्यो, त्योभन्दा माथि जानुपर्यो भन्ने छ,’ जोशीले भने, ‘उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो ।’
देउवाले अरु मागमा चासो देखाएनन्, जोशीलाई केन्द्रीय सदस्य बनाउने संकेत गरेका थिए ।
त्यसमा आफूहरु सहमत नभएको भन्दै दीपकराज जोशीले भने, ‘अब हामी आफ्नो ढंगले अगाडि बढौं, आफ्नो वक्तव्य दिन्छौं ।’
उनले स्थानीय तहको निर्वाचनका बेला आफूमाथि भएको सांघातिक आक्रमणका बारेमा छानबिन हुनुपर्ने, माफी माग्नु पर्ने र दोषीलाई दण्डित गर्नु पर्ने बारेमा पनि कुनै स्पष्ट जवाफ नदिएको पनि जानकारी दिए ।
उनले भने, “बुबा र मेरो विषय मात्र होइन, हाम्रा समूहमा रहेका सबैको उचित व्यवस्थापन हुनुपर्छ, अरुलाई धोका दिएर जाने कुरा सोच्न पनि सकिन्न ।”
जोशीलाई गत वैशाख ३० गते व्यास नगरपालिका–८ रिस्तीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । आक्रमणका परी जोशी गम्भीर घाइते भएका थियो ।