आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षको १० महिनामा गरेका कामहरु सार्वजनिक गरेको छ ।

गाउँपालिकाले १० महिनाको अवधिमा विभिन्न ३२ वटा कामहरु सम्पन्न गरेको जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, पर्यटन, वातावरण लगायतका क्षेत्रमा महत्वपूर्ण एवं लोकप्रिय काम गरेको जनाएको छ ।

आँबुखैरेनी पालिकाका अध्यक्ष शुक्र चुमानको सक्रियतामा चालु आर्थिक वर्षको १० महिनामा दर्जनौं लोकप्रिय कामहरुको सम्पन्न भएको र दर्जनौं कामहरुको शुरुवाती चरणमा रहेको दावी गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पालिकाले एमबिबिएस डाक्टर सहित २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्ने १५ सैयाको अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।

अस्पतालमा एक्सरे, ल्याब, इसिजी, ओपिडी, इमर्जेन्सी, सुत्केरी, रेबिज खोप, गर्भपतन, आँखाको उपचार, लगायतका सेवाहरु सञ्चालनमा रहेका छन् । सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवारलाई निःशुल्क सेवा उपलब्ध गराएको छ ।

क्यान्सर तथा जटिल रोग लागेका बिमारीलाई पालिकाकै स्रोतबाट ५० हजार आर्थिक सहायता उपलब्ध गराउने गरेको छ । यसका साथै विशेषज्ञहरुको सहभागितामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

शिक्षा क्षेत्रमा पालिकाले आवश्यकताको आधारमा विद्यालयहरुलाई बस खरिद पकृया अगाडि बढाएको छ । पाँच कक्षासम्म पढ्ने विद्यार्थीलाई पोशाक तथा झोला वितरण, गाउँ शिक्षा कोष स्थापना र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय भर्नाको कार्यक्रम लागु गरेको छ । त्यस्तै, पालिकाले शिक्षा क्षेत्रमा विद्यालयमा स्मार्ट कक्षाको निर्माण र ई लर्निङ सेन्टरको निर्माण प्रकृयालाई अगाडि बढाएको छ ।

पर्यटन क्षेत्रको विकासका लागि पालिकाले ऐना पहरामा सिसाको पुल निर्माण र छिम्केश्वरीमा केबलकार निर्माणको लागि तयारी अगाडि बढाएको छ । गाउँपालिकाले घर बनाउँदा निःशुल्क नक्सा पास गर्ने व्यवस्था समेत लागु गरेको छ । त्यस्तै एक वडा एक कालोपत्रे सडक र नक्सापास प्रणाली समेत लागु गरेको छ ।

यस्तै कृषि क्षेत्रलाई विकास गर्ने उद्देश्यले पालिकाले कृत्रिम गर्भाधान मिसन कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन केन्द्र, हाट बजार र एक वडा एक उत्पादन कार्यक्रम लगायत थुप्रै लोकप्रिय कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रत्येक वडामा नागरिक सेवा केन्द्र र शहिद परिवार तथा घाइते अपांगलाई जीवन निर्वाह भत्ता वितरण लगायतका लोकप्रिय कामहरु पालिकाले अगाडि बढाएको छ । उद्यम विकासको क्षेत्रमा पनि आबुखैरेनीले उद्यम विकास केन्द्रको निर्माण र विभिन्न किसिमका तालिम सञ्चालन गर्ने गरेको छ ।

पालिकाले सुशासन स्थापनाको लागि विद्युतीय हाजिरी, अनलाइन राजस्व प्रणाली, अनलाइन योजना सम्झौता, डिजिटल नागरिक वडापत्र र सूचना फेसबुक र वेबसाइटबाट प्रकाशन गर्ने पद्दतीलाई अंगिकार गर्दै आएको छ ।