तनहुँ । राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले युवादेखि वृद्धसम्मको साथ आफुहरुको पक्षमा रहेको बताए । उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा वाग्लेले युवावर्ग संगै जेष्ठ आमा बुबाको समेत साथ पाएको बताएका हुन् ।
वाग्लेले भने ‘यसपालि तनहुँ क्षेत्र नं. १ का मतदाताको मन र मत दुवै विगतको जस्तो नभएको बताएका छन् ।’ नेपाली कांग्रेस त्यागेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले परिस्थिति विगतको जस्तो नभएको बताउँदै भने, ‘परम्परागत मतहरुलाई र विचारहरुलाई परिवर्तन गराएको मैले पाएको छु र सूचना प्रविधिको पहुँचले ५०–६० नाघेकाहरुको पनि मन र मत दुवै फेरिनेवाला छ यसपालि ।’
गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनमा रास्वपाका डा. वाग्लेसँगै नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र लगायत उम्मेदवार छन् ।
कांग्रेस उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरे । एमाले उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन् ।