तनहुँ । तनहुँको दमौलीमा शनिवार सम्पन्न दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरबाट ७ हजार ६ सय ४२जना लाभान्वित भएका छन् । मुटु जोगाउँ, काठमाडौँ, सेभ द हर्ट र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयमा सम्पन्न शिविरबाट निःशुल्क मुटु परीक्षणका साथै आवश्यकता अनुसार औषधी वितरण गरिएको हो ।
विशेषत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट व्यास नगरपालिका क्षेत्रका विद्यार्थीसँगै अभिभावकहरु पनि लाभान्वित भएका छन् । स्वदेशी तथा विदेशी विशेषज्ञ डाक्टरद्धारा सेवा प्रदान गरिएको शिविरमा ८सय ९६ जनाको निःशुल्क इसिजी गरिएको छ । त्यस्तै ६सय ६१ जनाले निःशुल्क रुपमा इको कार्डियोग्राफी सेवा लिएका छन् । शिविरमा ७सय ९८ जनाको सुगर पनि परिक्षण गरिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए ।
परिक्षणको क्रममा यस क्षेत्रमा बढी बाथ मुटु रोग भेटिएको डा. भट्टराईले जानकारी दिए । जन्मजात मुटु रोगीको संख्या र मुटुको नली ब्लक भएर ह्रदयघात हुने खतरा पनि अधिक मात्रामा देखीएकाले सचेत रहनुपर्ने उनको भनाइ छ ।
शिविरबाट ३६ जना शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान भएका छन् । उनीहरुको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समन्वय गरी सेभ द हार्टले काठमाडौँमा निःशुल्क शल्यक्रियाको सेवा प्रदान गर्ने व्यवस्था मिलाइने संस्थाका महासचिव सेरबहादुर रानाले बताए ।
परिक्षणका क्रममा फलोअप गनुपर्ने बिरामी पनि धेरै पहिचान भएकाले निरन्तर उपचार र परामर्श गर्न सल्लाह दिइएको उनले बताए । शिविरबाट नागरिकले करिब ६८ लाख बराबरको सुविधा निःशुल्क पाएको आयोजकले जनाएको छ । ११ लाख बराबरको औषधी वितरण समेत गरिएको छ ।
समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई लक्षित गरी शिविरहरु सञ्चालन गर्दै आएको बताए । सोही अवसरमा उनले सेभ द हार्टसँगको सहकार्य बार्षिक रुपमै गरी नगरक्षेत्रका विभिन्न ठाउँका नागरिकलाई निःशुल्क मुटु परिक्षणको अवसर प्रदान गर्ने योजना बनाउने उद्घोष समेत गरे । व्यासमा सामान्य स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सम्बन्धी सेवा प्रवाह भइरहेकाले यस्ता विशेषज्ञ सहितका सेवा निरन्तर सञ्चालन गर्ने उनले बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा काठमाडौँ, पोखरा लगायतका ठाउँबाट र इटलीबाट आएका चिकित्सक तथा स्वास्थ्यकर्मीले शिविरमा सेवा दिएका थिए । सेभ द हार्टले मिसन बाम्बिनी इटलीसँग सहकार्य गरी देशभर शिविर सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष समेत रहेका भट्टराईले बताए । उनका अनुसार हालसम्म एक सय १४ स्थानमा मुटु परिक्षण सम्बन्धी निःशुल्क शिविर सम्पन्न भइसकेको छ ।
जसबाट एक लाख २० हजार भन्दा बढी नागरिक लाभाविन्त भएका छन् । हालसम्म एक हजार भन्दा बढी जटिल समस्या भएका मुटुरोगीको संस्था मार्फत ओपनहार्ट सर्जरी सम्पन्न भइसकेको छ भने बाँकी बिरामी निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराइरहेका छन् ।
शिविरलाई मगर समाज सुधार समिति, दमौली, रोटरी क्लव अफ दमौली, रोट¥याक्ट क्लब अफ दमौलीको सहकार्य तथा नेपाल कार्डियो डायबिटिज एण्ड थाइराइड सेन्टरको प्रविधिक सहयोग रहेको थियो ।