तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । यहि जेठ २६ र २७ गते शुक्रबार र शनिबार साहित्य सम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारी (सगर उदास)ले बिहिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो ।
अध्यक्ष अधिकारीका अनुसार उक्त कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
सो प्रतियोगितामा १३७ वटा कविता सहभागी रहेको आयोजकले जनाएको छ । गीतकार एवं साहित्यकार रमेश पौडेलको संयोजकत्वमा प्रतियोगिताको निर्णायक मण्डलमा श्रबण मुकारुङ्ग, भूपिन खड्का लगायतका रहेको प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिइन् ।
‘साहित्य सम्मेलनलाई सफल बनाउन प्रतिष्ठानले प्रचार–प्रसारको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।’ उनले भने, “साहित्य सम्मेलनलाई सभ्य र भव्यरूपमा सम्पन्न गराउन विभिन्न स्थानीय तहसँग आर्थिक सहयोग माग गरेका छौँ । स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएको छ ।”
यस्तै भाषा,साहित्य,कला संस्कृतिमा योगदान गरेबापत साहित्यकार एव आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायण प्रसाद गौतमलाई गण्डकी वाङ्मय पुरस्कारबाट शुक्रबार राष्ट्रिय कविता प्रतियोगिताको अवसरमा दमौलीमा सम्मानित गरिने गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष अधिकारीले जानकारी दिए । गौतमलाई रु.दश हजार नगद तथा दोसल्ला र प्रमणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सो कार्यक्रम गर्न ११ लाख बढी खर्च लाग्ने अनुमान गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । जिल्लाको व्यास नगरपालिकासहित अन्य पालिका संग सहयोगको लागी अनुरोध गरिएको समेत उनि बताउछन् ।
देशभरबाट २ सय बढी कवि-कवयित्री दमौली आउने आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ रहने छन् । यसअघी पहिलो राष्ट्रिय साहित्य सम्मेलन २०५३ सालमा भएको थियो ।
सो सम्मेलन विसं २०७६ सालमा गर्न लागेको भएपनि पटक पटकको कोरोना र संघीय निर्वाचनका कारण रोकिएको कार्यक्रम अहिले गर्न लागेको प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिईन ।